सुन प्रकरणमा पक्राउ परेका डीएसपी केसीलाई भ्रष्टाचारको कसुरमा कारबाही गर्न सिफारिस

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई भ्रष्टाचारको कसुरमा कारबाही गर्न प्रहरी प्रधान कार्यालयले सिफारिस गरेको छ।

भ्रष्टाचारको कसुरमा कारबाही गर्न भन्दै प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएको हो।

छानबिन समितिले नै भ्रष्टाचारको कसुरमा कारबाही गर्नुपर्ने औंल्याएपछि कारबाहीका लागि अख्तियारमा फाइल पठाइएकाे प्रहरी प्रधान कार्यालय स्राेतले जनायाे।

डीएसपी केसीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा समिति बनाएको थियो। उक्त समितिले प्रतिवेदन बुझाउँदै डीएसपी केसीले बदनियत गरेको देखिएकाले फौजदारी कसुरअन्तर्गत भ्रष्टाचारको मुद्दा चलाउनुपर्ने भन्दै सिफारिस गरेको थियो।

गत पुस ११ गते डीएसपी केसी ३५ तोला सुनसहित पक्राउ परेका थिए। बर्दीको आडमा ३५ तोला सुन ‘लुटेका’ डीएसपी केसीले सुन फिर्ताका लागिसमेत रकम लिएका थिए। रकम दिँदासमेत सुन फिर्ता नपाएपछि उक्त कुराको जानकारी प्रहरी हेडक्वार्टरसम्म पुगेको थियो।

प्रहरी हेडक्वार्टरले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएपछि डीएसपी तपन दाहालको कमाण्डमा खटिएको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो। लुटिएको ३५ तोला सुन र नगद, चेक गरी २५ लाख रुपैयाँ उनीबाट बरामद भएको थियो।

सुन, पैसा र चेकसहित पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। त्यसपछि उनी निलम्बनमा परेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर