के पुटिनलाई पक्राउ गर्न सम्भव छ?

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको हो।

आईसीसीले राष्ट्रपति पुटिनमाथि युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउन पर्याप्त प्रमाण रहेको बताएकाे छ।

आईसीसीले युक्रेनका सयौं बालबालिकालाई अनाथालय र बालगृहबाट रुसमा ल्याएको र रुसमा बस्ने परिवारले उनीहरूलाई अपनाउन सक्ने सबैभन्दा ठूलो आरोप लगाएको छ।

यद्यपि, यस्तो मुद्दा अघि बढाउन धेरै व्यावहारिक र तार्किक कठिनाइहरू रहेको विज्ञहरू बताउँछन्। पक्राउ पुर्जी यस प्रक्रियाको पहिलो चरण हुने उनीहरूकाे तर्क छ।

के पुटिनलाई पक्राउ गर्न सम्भव छ?
रुसी राष्ट्रपति पुटिन विश्वकै शक्तिशाली नेतामध्ये एक मानिन्छन्। रुसले उनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाउने कुनै सम्भावना छैन। यसको मतलब रुसमा रहँदासम्म उनी पक्राउ पर्ने खतरा हुने छैन।

तर, उनी रुसबाहिर गएको खण्डमा उनलाई हिरासतमा लिन सकिनेछ। यद्यपि, उनलाई अन्य देशहरूमा आउजाउ गर्न पहिले नै धेरै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएका छन्, जसका कारण उनीमाथि मुद्दा चलाउन चाहने कुनै पनि देशमा उनी सायदै देखिनेछन् ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि राष्ट्रपति पुटिनले आठ देशको मात्र भ्रमण गरेका छन्। तीमध्ये सात देशहरू छन् जो कुनै समय सोभियत संघमा आबद्ध थिए। इरान एकमात्र यस्तो देश हो जुन यो श्रेणीमा पर्दैन। उनले गत वर्ष जुलाई महिनामा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनोईसँग भेट गरेका थिए। इरानले रुसलाई ड्रोन र अन्य सैन्य उपकरणको आपूर्तिमा मद्दत गरेको छ, त्यसैले इरानको भ्रमणले पुटिनलाई कुनै समस्यामा पार्ने छैन।

के पुटिनले साँच्चै मुद्दाको सामना गर्लान्?
राष्ट्रपति पुटिनमाथि मुद्दा चलाउनमा दुईवटा प्रमुख बाधा छन्। पहिलो, रुसले आईसीसीको अधिकार क्षेत्रलाई मान्यता दिँदैन। दोस्रो, अदालतले पुटिनलाई पक्राउ नगरी कसरी मुद्दा चलाउन सक्छ?

अन्तर्राष्ट्रिय फौजदारी अदालत सन् २००२ मा स्थापना भएको थियो। यो सन्धिलाई रोम विधान पनि भनिन्छ। यसअनुसार अन्तर्राष्ट्रिय अपराधमा जिम्मेवार व्यक्तिहरूलाई आफ्नो देशको फौजदारी क्षेत्राधिकार लागू गर्नु प्रत्येक देशको कर्तव्य हो।

आईसीसीले कुनै देशले अपराधीलाई कारबाही गर्न नसक्ने वा नचाहेको अवस्थामा मात्रै हस्तक्षेप गर्न सक्छ। कुल १२३ देशहरू यसलाई पालना गर्न सहमत भएका छन्, जबकि रुसलगायत धेरै देशहरू यसको हिस्सा छैनन्। युक्रेनसहित केही देशले सन्धिमा हस्ताक्षर त गरेका छन् तर अनुमोदन गरेका छैनन्।

दोस्रो कुरा, कसैलाई पनि कठघरामा नराखी मुद्दा चलाउन मुस्किल छ। पुटिनको अनुपस्थितिमा आईसीसीले मुद्दा चलाउन सक्ने छैन।

आईसीसीले के भनेको छ?
मार्च १७ मा जारी गरिएको अदालतको आदेशमा राष्ट्रपति पुटिनसँगै रुसकी बालअधिकार आयुक्त मारिया लभोभा–बेलोभाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ। युक्रेनबाट बालबालिकालाई आपराधिक रूपमा देश निकाला गरेको मुद्दामा उनी दोषी ठहर भएकी छन्।

उनीमाथि बालबालिकालाई जबरजस्ती देशबाट निकालेको आरोप छ। बालबालिकाहरूलाई देश निकाला गर्दा चौथो जेनेभा महासन्धिअन्तर्गत उनीहरूलाई सुरक्षा दिइएको थियो।

यसअघि क-कसले मुद्दाको सामना गरे?
मानवताविरुद्धको अपराधका लागि व्यक्तिहरूलाई अभियोग लगाउने विचार आईसीसीको निर्माणअघिदेखि नै हो। यो मुद्दा नाजी जर्मनीमा प्रलय र अन्य अत्याचारका लागि जिम्मेवार व्यक्तिहरूविरुद्ध चलाइएको थियो। यसमा नाजी नेता एडोल्फ हिटलरका सहायक रुडोल्फ हेस सामेल थिए, जसलाई आजीवन कारावासको सजाय सुनाइएको थियो। तर, सन् १९८७ मा उनले आत्महत्या गरेका थिए।

पुटिनलाई वास्तवमा मानवताविरुद्धको अपराधको आरोप लगाइएको छैन। तर, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पुटिनविरुद्ध यस्तो मुद्दा चलाइनुपर्ने बताएकी छन्।

यता, यदि पुटिन दोषी थिए भने यसले कानूनी कठिनाइ सिर्जना गर्ने संयुक्त राष्ट्रसंघ आफैं बताउँछ। ‘नरसंहार र युद्ध अपराधबाहेक मानवताविरुद्धको अपराधलाई अन्तर्राष्ट्रिय कानूनको सन्धिमा समावेश गरिएको छैन। यद्यपि, त्यसो गर्न प्रयासहरू भइरहेका छन्,’ राष्ट्रसंघको भनाइ छ।

अन्य संघसंस्थाले पनि युद्ध अपराधका अभियुक्तलाई सजायको माग गरेका छन्। यसमा युगोस्लाभियाका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण समावेश छ, जो राष्ट्रसंघको एक संगठन हो। यो १९९३ देखि २०१७ सम्म अस्तित्वमा थियो।

सन् १९९० को दशकमा बाल्कनमा भएको द्वन्द्वका क्रममा भएका युद्ध अपराधका लागि यसले ९० जनालाई दोषी ठहर गरी सजाय सुनाएको थियो। यस अपराधका अभियुक्तहरूमा युगोस्लाभियाका पूर्वराष्ट्रपति स्लोबोदान मिलोसेभिक पनि थिए, जसको सन् २०१६ मा हिरासतमै हृदयघातका कारण मृत्यु भएको थियो।

जहाँसम्म आईसीसीको सवाल छ, यसले पुटिनबाहेक ४० जनालाई अभियोग लगाएको छ। उनीहरू सबै अफ्रिकी देशका हुन्। तीमध्ये १७ जनालाई हेग (जहाँ आईसीसी छ) मा हिरासतमा राखिएको छ।

युक्रेन युद्धमा यसले कस्तो प्रभाव पार्ला?
राष्ट्रपति पुटिनविरुद्धको पक्राउ पुर्जीलाई युक्रेनमा जे भइरहेको छ त्यो अन्तर्राष्ट्रिय कानूनविपरीत हो भन्ने अन्तर्राष्ट्रिय संकेतका रूपमा हेरिएको छ। यो अपराध अझै भइरहेकाले पक्राउ पुर्जी सार्वजनिक गरिएको अदालतले जनाएको छ। यसो गरेर उसले भविष्यमा हुने युद्ध अपराधलाई रोक्न खाेजेकाे संकेत गर्छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अदलतको फैसलाको स्वागत गर्दै यसलाई ‘ऐतिहासिक फैसला’ भनेका छन्। उनले भनेका छन्, ‘आज अन्तर्राष्ट्रिय न्यायको सन्दर्भमा यो महत्त्वपूर्ण फैसला आएको छ। अदालतले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ, यो ऐतिहासिक कदम हो जसले उनको जिम्मेवारी तय गर्नेछ।’

तर, रुसले पक्राउ पुर्जीलाई ‘अर्थहीन’ भन्दै खारेज गरेको छ। रुसले युक्रेनमा कुनै पनि युद्ध अपराध नगरेको दाबी गर्दै आइरहेको छ।
पुटिनका प्रवक्ताले आईसीसीको फैसलालाई ‘अपमानजनक’ र ‘अस्वीकार्य’ भनेका छन्।

जसरी रुसबाट पक्राउ पुर्जी खारेज गरिएको छ, त्यसबाट युक्रेनमा भएको युद्धमा आईसीसीको कारबाहीले कुनै प्रभाव नपर्ने र राष्ट्रपति पुटिनको विशेष सैन्य कारबाहीले युक्रेनका जनतामाथि दमन जारी रहने देखिन्छ। (बीबीसी हिन्दीबाट)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर