पक्राउ पुर्जी जारी भएको भोलिपल्टै युक्रेनी शहर मारिउपोल पुगेका थिए पुटिन

युद्ध अपराध गरेको अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कब्जा गरेको युक्रेनी शहर मारिउपोलको आकस्मिक भ्रमण गरेकाे खुलेकाे छ।

आईसीसीले उनीविरुद्ध युक्रेनमा युद्ध अपराध गरेको आरोपमा शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो। शनिबार राति उनले मारिउपोलको भ्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो विषय आइतबार मात्रै सार्वजनिक भएको हो।

बीबीसीका अनुसार एक आधिकारिक भिडियोमा पुटिनले राति सडकमा कार चलाउँदै मानिसहरूसँग कुरा गरिरहेको देखिएको छ। क्रेमलिनले यो शनिबार ढिलो भएको बताएको छ।

राष्ट्रपति पुटिनले क्रिमियाको एकीकरणको नवौं वर्षगाँठको उपलक्ष्यमा क्रिमियाको भ्रमण गरेको केही घण्टापछि क्रेमलिनले सार्वजनिक गरेको भिडियोमा उनलाई हेलिकप्टरबाट मारिउपोलमा अवतरण गरेको देखाइएको थियो ।

पुटिनले कार चलाएर शहरको भ्रमण गरेको भिडियोमा देख्न सकिन्छ । रुसी प्रशासनिक केन्द्र क्रेमलिनका अनुसार उनले पुनर्निर्माण गरिएको म्युजिकल थिएटरको भ्रमण गर्नुका साथै भ्रमणका अवसरमा पुनः निर्माण कार्यसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

रुसी सरकारी टेलिभिजनले प्रसारण गरेको तस्बिरअनुसार एक स्थानीय बासिन्दाले पुटिनलाई भनेका छन- ‘हामी तपाईंका लागि प्रार्थना गरिरहेका छौं।’

गत वर्षको फेब्रुअरीमा युक्रेन द्वन्द्व सुरु भएयता पुटिनको पूर्वी डोनबास क्षेत्रको यो पहिलो भ्रमण थियो। रणनीतिक बन्दरगाह शहरमा युक्रेनी सेनाको अन्तिम नियन्त्रण र अजोभस्टल स्टिल उद्योगमा आक्रमणसहित एक अभियानपछि मारिउपोल कब्जा भएकाे थियाे।

पुटिनले युक्रेनसँग सीमा जोडिएको दक्षिणी रुसी शहर रोस्तोभ-अन-डोनमा जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभलगायत सेना प्रमुखसँग पनि भेटवार्ता गरेको क्रेमलिनले जनाएको छ।

तस्बिर : एपी।

उनले शनिबार क्रिमियाको आकस्मिक भ्रमण पनि गरेका थिए। रुसी सरकारी टीभीले उनलाई मस्कोले नियुक्त गरेका स्थानीय गभर्नर मिखाइल रज्वोजायेभको साथमा ब्ल्याक सी को बन्दरगाह शहर सेवस्तोपोलको भ्रमण गरेको देखाएको थियो । उनी सेवेस्तोल पुग्दा आफैंले गाडी चलाएर गएका थिए।

सन् २०१४ मा कीभ र अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको जनमतसंग्रहपछि रुसले क्रिमियालाई आफ्नो नियन्त्रणमा लिएको थियो।

क्रेमलिनले मारिउपोल जाने पुटिनको निर्णय ‘स्वस्फुर्त’ भएको बताएको छ। पुटिनले मारिउपोलको पूर्वमा रहेको रुसी शहर रोस्तोभ-अन-डोनमा शीर्ष सैन्य कमाण्डरहरूसँग भेट गरेको पनि रिपोर्ट गरिएको छ।

पुटिनका लागि कूटनीतिक ‘कू’ का रूपमा हेरिएको समय चिनियाँ राष्ट्रपति सी चिनफिङले यसै साता मस्कोको भ्रमण गर्नुअघि पुटिनले युक्रेनी रणनीतिक बन्दरगाह शहरका रूपमा चिनिने मारिउपोल भ्रमण गरेका हुन्।

मस्कोको रणनीतिक सहयोगी बेइजिङले युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने उद्देश्यले यो भ्रमणलाई ‘शान्तिका लागि भ्रमण’ को संज्ञा दिएको छ । चीनले आफूलाई तटस्थ पक्षको रूपमा स्थापित गर्न खोजेको छ र मस्को र कीभलाई वार्ता सुरु गर्न आग्रह गरेको छ।

तर, पश्चिमा नेताहरूले रुसको आक्रमणको निन्दा नगरेको भन्दै बेइजिङको बारम्बार आलोचना गर्दै मस्कोलाई आफ्नो अभियानका लागि कूटनीतिक आवरण प्रदान गरेको आरोप लगाउँदै आएका छन्।

रुस र युक्रेनबीचको सबैभन्दा लामो र रक्तपातपूर्ण युद्धमा ठूलो विनाश भएपछि मारिउपोल १० महिनाभन्दा बढी समयदेखि रुसी कब्जामा छ। युक्रेनले त्यहाँ आफ्ना २० हजारभन्दा धेरै नागरिक मारिएको दाबी गरेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार यहाँ ९५ प्रतिशत भौतिक संरचनाहरू क्षतिग्रस्त भएका छन् र लगभग ३ लाख ५० हजार मानिसहरू यो स्थान छाड्न बाध्य भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर