नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन्।

सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह-२०२३ उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले विश्वका अन्य मुलुकहरूमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृत्ति रहेको बताए। उनले मुद्रालाई वचत गर्न जरुरी रहेको भन्दै बचतबाट नै आम्दानी बढ्ने दाबी गरे।

गभर्नर अधिकारीले मानिसहरूसँग भएको रकम बचत नगरे पनि खर्च हुने भएको भन्दै बचत गर्न अनिवार्य रहेको बताए। उनले राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको रेट कमजोर रहेको जानकारी दिए।

त्यस्तै गनर्भर अधिकारीले शेयरमा लगानी गर्नु पनि बचत भएको भन्दै शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्न सक्ने बताए। उनले नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेकोसमेत बताए।

‘आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुहोस्’ भन्ने नारासहित सोमवारदेखि ग्लोवल मनी विक-२०२३ सुरु भएको छ। ग्लोबल मनी विकको यो एघारौं संस्करण हो। नेपाल राष्ट्र बैंकले अभियानको पहिलो दिन उपत्यकास्थित विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ।

नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, सहकारी विभागका का.मु. रजिष्ट्रार टोलराज उपाध्याय, राष्ट्र बैंकका उच्च अधिकारीलगायतको उपस्थिति थियो।

चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन्। नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना हुनेछन्।

साथै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन्। यसैगरी निजी विद्यालयका छाता संगठनलाई समेत विद्यालयस्तरमा वित्तीय चेतनामूलक कार्यक्रम सञ्चालनको निम्ति अनुरोध गरिएको छ। यस अभियानअन्तर्गत बैंकिङ/वित्तीय, पुँजीबजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन्।

उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवर्द्धन र वित्तीय पहुँच विस्तार भई स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *