बाख्राको गोठालो चितुवालाई दिएपछि यो हालत भयो : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संविधान सभामा माओवादीले धेरै मत पाउन नसकेका कारण दलित, जनजातिलगायतका उत्पीडत जातिहरूले पर्याप्त हक अधिकार नपाएकाे बताएका छन्।

मंगलबार ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले दलित, जनजातिलगायतका उत्पीडत जातिहरूले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेको बताए।

उनले मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक अधिकार सुनिश्चित हुन नसकेको बताए। उनले मत अरूलाई दिएर ‘बाख्राको गोठालो चितुवा’लाई बनाएको टिप्पणी गरे।

उनले भने, ‘माओवादी आन्दोलनको कारणले आज बोल्न नसकेका दलितहरू बोल्न पाए। आज समावेशीको नाममा माओवादीका मन्त्रिमण्डलमा २/३ जना जनजाति छौं। एक जना दलित छौं। एउटा थारुको छोरा छौं। वास्तवमा समाजको विभेद अन्त्य गर्नको निम्ति माओवादी आन्दोलन थियो। जतिखेर माओवादी आन्दोलनको एउटा सूत्रधार संविधान सभामा संविधान कोर्ने बेला थियो, त्यतिबेला हामीले बुझ्न सकेनौं। अहिले ठूल्ठूला कुरा गर्दैछौं। तपाईं हामी ठूल्ठूला कुरा गर्छौं। त्यतिखेर भोट दिने बेलामा, जतिबेला आफ्नो भाग्य र भविष्य निर्माण गर्ने बेलामा संविधान सभामा हाम्रो आफ्नो मत दिएर, आफ्नो अधिकारको निम्ति तपाईंहरूले भोट हाल्ने बेलामा त्यतिखेर सम्झनुभएन। उखान छ, बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइन्छ? त्यतिखेर भोट दिने बेलामा माओवादीलाई नदिइकन अर्कोलाई दिनुभयो, आज त्यही हालत छ।’

मन्त्री मोदीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै उनलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर