शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंगोमा पुर्‍याउनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्। महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्‍याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिए।

महामन्त्री थापाले तत्कालको नाफा-घाटाभन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउन सबै राजनीतिक दलहरूलाई आग्रह गरे। शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्‍याउने र अन्तर्राष्ट्रिय मूल्यमान्यताविपरीत जान नहुने उनको भनाइ छ।

महामन्त्री थापाले राजनीतिक दलहरूलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पुर्‍याउने कामबाट भाग्ने छुट नभएको पनि बताए। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कामको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने पनि उनले बताए।

महामन्त्री थापाले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले लिएको आर्थिक नीतिकै कारण मुलुक आजसम्म टिकेको दाबीसमेत गरे। उनले कोइरालाले लिएको आर्थिक नीतिबाटै मुलुक टिके पनि उनीमाथि त्यसको जस नदिएर अन्याय गरेको बताए।

महामन्त्री थापाले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई पनि सचेत गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *