चैत १५ र १६ गते ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’ आयोजना गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन-२०७९’ सञ्चालन गर्ने भएको छ ।

महानगरले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय विवाद निरूपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौतीसम्बन्धी अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको हो ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले देशभरमा स्थानीय तहका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानूनी प्रबन्ध र उपयोगमा समान बुझाई विकास गर्न सम्मेलन आयोजना गर्न लागेको बताइन् । उनले न्यायिक समितिको राष्ट्रिय सम्मेलनमार्फत देशभरका न्यायिक समितिले गरिरहेको काम, कर्तव्य, क्षेत्राधिकार, सफलता, भोगेका समस्या र चुनौतीसम्बन्धी अनुभव आदानप्रदान गर्ने मुख्य उद्देश्य रहेको बताइन् ।

उपप्रमुख डंगोलले देशभरमा महानगर, नगरपालिका र गाउँपालिकाका न्यायिक समितिले भोगेका समस्या, चुनौतीको आवास बोक्ने प्रयास गर्न लागेको बताइन् । उनले सम्मेलनमा न्यायिक समितिको अवधारणा, विभिन्न कानूनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र प्रचलन विषयमा कार्यपत्र प्रस्तुत हुने उल्लेख गरिन् ।

उनले सम्मेलनको दुई दिनसम्म छलफल भएका विषयलाई समेटेर विवाद निरूपणका लागि काठमाडौं घोषणापत्र जारीसमेत गर्ने जानकारी दिइन् । डंगोलले सम्मेलनमार्फत देशभरमा न्यायिक समितिले गर्ने काममा एकरूपता ल्याउने काम गर्न सहयोग पुग्ने बताइन् ।

सम्मेलनमा अहिलेसम्म देशभरका ४५० पालिकाका न्यायिक समितिका संयोजक वा प्रतिनिधि सहभागी हुने निश्चित भएको छ । सम्मेलनबाट मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने विवाद र यसका लागि अपनाउनुपर्ने विधि, मेलमिलाप र निर्णय प्रक्रियाका बारेमा समान बुझाइ विकास हुने अपेक्षा गरिएको छ । न्यायिक सम्मेलनले न्याय सम्पादनका काम प्रभावकारी हुने, सर्वसाधरणमा न्यायको पहँुच बढ्ने विश्वास लिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर