वाग्मती प्रदेश : कांग्रेसका दुई नेताको मनमुटावले माओवादीका मुख्यमन्त्री सुरक्षित

वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै छन् । सत्ता साझेदार नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

आज नै एमाले वाग्मती प्रदेश सरकारबाट बाहिरिने भएको छ । वाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, जो एमालेका सांसद पनि हुन्, उनले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिए ।

एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ । गत पुस २५ मा नेकपा (एकीकृत माओवादी केन्द्र) का नेता शालिकाराम जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा एमालेसहितका पाँच दल सहभागी भएका थिए ।

सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै सरकारबाट अलग भइसकेको छ । गत फागुन १३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट राप्रपा अलग भएपछि जम्कट्टेलले यही चैत ८ मा प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको थियो ।

नेपाली कांग्रेस सहभागी नभएपछि उक्त दिन अबेर विश्वासको मत लिने कार्यक्रम आजका लागि लागि सारिएको थियो । यस्तो हुनुको कारण थियो, कांग्रेसको विवाद । खासगरी प्रदेशको पहिलो पार्टी कांग्रेसमा दीय दलका नेता बहादुरसिंह लामा र कांग्रेसको वाग्मती प्रदेश सभापपति इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा छ । आफूलाई मुख्यमन्त्री बन्न नदिन बानियाँ अवरोध गर्न खोजेको लामा पक्षको बुझाइ छ ।

त्यसैले कांग्रेस संसदीय दललाई कांग्रेस प्रदेश समितिले जम्कट्टेलको पक्षमा विश्वासको मत दिन निर्देशन दिए पनि नेता लामा पक्षले आनाकानी गरेपछि बुधबार प्रदेशसभा बैठक स्थगित भएको थियो । संसदीय दलको निर्वाचनमा बानियाँ लामासँग हारेका थिए ।

यी दुई नेताको प्रतिस्पर्धाको फाइदा भने माओवादीबाट मुख्यमन्त्री बनेका जम्कट्टेललाई हुने भएको छ । हालसम्म केन्द्रबाट प्रदेशको नेतृत्व लगायतको भागबण्डा भइसकेको छैन । त्यसैले जम्कट्टेल मुख्यमन्त्री कायम नै रहने भएका हुन् । कांग्रेसले भने ठूलो दलको हैसियामा मुख्यमन्त्रीमा दाबी र त्यो पनि नभए आलोपालो नेतृत्वमा जोड दिँदै आएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले संविधानको धारा १८८ को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले विश्वासको मत लिन लागेको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्ने दोस्रो ठूलो दल नेकपा (एमाले) सहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी गरी पाँच दलका ७० प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारलाई गत माघ ३ गते ठूलो दल कांग्रेसले समेत विश्वासको मत दिएको थियो ।

अहिले प्रदेशसभामा ३७ सिट रहेको कांग्रेस, ७ सिट रहेको एकीकृत समाजवादीसहित २१ सिट रहेको माओवादी र २ सिटको हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने भएका छन् । ११० सदस्यीय प्रदेशसभामा सरकारको समर्थनका लागि ५६ मत आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *