नेपाली आकाशमा टरेकाे जहाज दुर्घटना

नेपाली आकाशमा ठूलो हवाइ दुर्घटना टरेको छ । शुक्रबार विहान सिमराको आकाशमाथि नेपाल वायुसेवा निगमको विमान १५ हजार फिट उचाइमा उडिरहेको थियो । त्यति नै बेला दिल्लीबाट काठमाडौंका लागि उडान भरेको एयर इन्डियाको विमानले झण्डै ठक्कर दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अप्रोच कन्ट्रोल टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले एयर इन्डियाको विमानलाई भारतबाट नेपाल प्रवेश गर्दा १९ हजार फिटको उचाइमा आउन अनुमति दिए । तर, उक्त विमान एक्कासी १५ हजार फिटको उचाइमा झर्‍यो । सोही उचाइमा नेपाल वायुसेवा निगमको विमान होल्ड गरिरहेको थियो । उक्त विमानले अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि समय कुरिरहेको थियो

‘दुवै विमान समान उचाइमा उड्न थाले । नेपाल एयरलाइन्सको विमान ८ माइल (१२.८ किमि) अगाडि थियो ।

विमानको चेतावनी प्रणालीले जहाज ठोक्किन सक्ने सूचना सम्प्रेषण गरेपछि नेपाल वायुसेवा निगमको विमान तल झर्‍यो र एयर इन्डियाको विमान माथि गयो । जसले गर्दा करिब ३ सय ५० यात्रुको ज्यान बच्यो’ विमानस्थलका एक एटीसीले भने, ‘एयर इन्डियाको विमान १९ हजार फिटमा नउडेर किन १५ हजार फिटमा झर्‍यो भन्ने विषयमा अनुसन्धानबाटै खुल्छ ।’

सर्ट टर्म कन्फ्ल्क्टि अलर्टले विमान दुर्घटना हुनबाट जोगाएको एटीसी बताउँछन् । एयर बसले प्रति घण्टा कम्तिमा ३२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा उडान भर्छन् ।

एक मिनेटमा एयरबसले कम्तीमा ५.५ किलोमिटर दूरी पार गर्छ । दुई विमानको दूरी ८ माइल (१२.८ किमि) मात्रै हुनु निकै जोखिमपूर्ण भएको ति एटीसीले बताए ।

एयर इन्डिया फरक भर्टिकल उचाइबाट एक्कासी तल झरेर नेपाल एयरलाइन्सको जहाजले उडान भरिरहेको समान ‘होरिजेन्टल’ उचाइमा पुग्यो । उड्डयनक्षेत्रका विज्ञहरु समान होरिजेन्टल उचाइमा कम्तिमा ९० नर्टिकल माइलको दूरीभन्दा कममा विमान उडन नमिल्ने बताउँछन् ।

यसअघि फागुन १५ गते बुध्द, कतार र नेपाल वायुसेवा निगमको विमान ठोकिनबाट जोगिएका थिए । काठमाडौं अवतरणका लागि नेपाल वायुसेवाको विमान तयार अवस्थामा रहँदा उक्त जहाजको केीमाथि कतार एयरवेज र तल बुध्द एयरको विमान थिए।

तीनवटै जहाजको फरक १ हजार ५ सय फिटमात्र थियो । कतार एयरको जहाज एक्कासी तल आएपछि निगमको जहाजमा एलर्ट भएको थियो । त्यसपछि निगमका पाइलटले विमानलाई तल झारेका थिए । जसले गर्दा ठूलो दुर्घटना टरेको थियो ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जोखिम विश्लेषण नगरी एटीसीलाई अतिरिक्त समय काम लगाउँदा निरन्तर उड्डयन सुरक्षामा लापरवाही भइरहेको छ ।

एटीसीको क्षमता अभिवृद्धिका लागि निरन्तर तालिम दिन सकिएन भने आगामी दिनमा जोमिख थप बढ्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *