गैरव्यावसायिक आचरण र व्यवहार कुनै हालतमा सह्य हुँदैन : आईजीपी कुँवर

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले गैरव्यावसायिक आचरण र व्यवहार कुनै पनि हालतमा सह्य नहुने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन-सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले सो कुरा बताएका हुन् ।

महानिरीक्षक कुँवरले भने, ‘अपराधीहरूलाई कानूनको दायरामा ल्याउने लगायतका जिम्मेवारी वहनको सिलसिलामा प्रहरी कर्मचारीबाट अकर्मण्यता, लापरबाही र उदासीनता भएमा त्यो कुनै पनि हालतमा क्षम्य हुने छैन।’

साथै उनले सहकर्मी अधिकृतहरूलाई कुनै पनि पूर्वाग्रह र स्वार्थबिना एकै साथ मिलेर, एकढिक्का भएर संगठनको गरिमालाई थप उचाइमा पुर्‍याउन एकमतको सांगठनिक दूरदृष्टि बनाएर हरेक कदमसँगै हिँड्नसमेत अनुरोध गरे । संगठनमा रहेका मातहत दर्जाका प्रहरी कर्मचारीहरूको भलाइका लागि गर्न सकिने सम्पूर्ण प्रयास गर्ने र जुनसुकै प्रहरी कर्मचारीले बिनाहिच्किचाहट र व्यवधानका साथ आफ्नो वास्तविकता संगठन प्रमुखसमक्ष राख्न सक्ने मैत्रीपूर्ण व्यवहार र वातावरणको सुनिश्चतता हुने विश्वास उनले व्यक्त गरे ।

उनले प्रहरी संगठनको आन्तरिक शुद्धीकरण आफ्नो कार्यकालको पहिलो र मूल प्राथमिकता रहेको पनि बताए ।

अहिले संगठनका सामु समस्याका चाङहरू रहेको, संगठनको दुर्बल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपायहरू अवलम्बन गर्नुको टड्कारो आवश्यकता रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास एवं सामूहिक प्रतिबद्धता जरुरी रहेको बताए । व्यावसायिकता, पारदर्शिता एवं आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू संकल्पित हुनुपर्ने उनले बताए ।

नेपाल प्रहरी नागरिक प्रशासनको सबैभन्दा संवेदनशील संस्था भएको, संगठन सदैव जनमुखी, पारदर्शी र कानूनले निर्देशित गरेको मूल्यमान्यताका आधारमा सञ्चालित हुनुको अर्को विकल्प नभएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणाअनुरूप नेपालको संविधान, प्रचलित ऐन-कानूनहरू र नेपाल सरकारको नीति निर्देशनबमोजिम परिचालित हुनु नेपाल प्रहरीको मूल दायित्व रहेको बताए ।

क्षमता गुमेपछि आत्मविश्वास गुम्छ, आत्मविश्वास गुमाएपछि त्यो संगठनमा आबद्ध व्यक्तिहरूको स्वाभिमान गुम्छ भन्ने कुरा सबैले मनन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘म यो संगठनको स्वाभिमान र साख गुम्न नदिन यहाँहरू सबैसँग आ-आफ्नो क्षेत्रबाट रचनात्मक क्रियाशीलताको अपेक्षा गर्दछु । संगठनको हितप्रति केन्द्रित यहाँहरूको प्रयास र योजनाका लागि मेरो ढोका सदैव खुला रहने विश्वास दिलाउन चाहन्छु ।’

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर