मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : कांग्रेस उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारूढ दलहरूका बीचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन्।
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबण्डाको विषय नटुंगिएको बताएका हुन्।
उनले गठबन्धन दलका नेताहरूका बीचमा छलफल भइरहेको भए पनि कुन पार्टीले कुन मन्त्रालय लिने भन्नेमा टुंगो नलागेको बताए। उनले नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को-को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको बताए।
उनले भने, ‘नेपाली कांग्रेसले औपचारिक रूपमा कुनै निर्णय गरेको छैन। नेपाली कांग्रेस मात्रै होइन कुनै पनि दलले कुन मन्त्रालय लिएर सहभागी हुने भन्नेबारेमा अन्तिम निर्णय भइसकेको छैन। अहिले सबै कुरा छलफलको क्रममा छ। छलफल घनीभूत रूपमा प्रधानमन्त्रीले समन्वय गरेर गरिरहनुभएको छ। गठबन्धन दलका नेताहरूसँग पनि छलफल भइराखेको छ।’
उनले आगामी ३ दिनभित्रमा सरकारले पूर्णता पाउने बताए। प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलहरूसँग संवाद गरिरहेको भन्दै ३ दिनभित्रमा सरकारले पूर्णता पाउने उनले बताए।
उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार विस्तारको सम्बन्धमा कसैको असहमति नभएको उल्लेख गरे।सबैको सहभागिता र उचित प्रतिनिधित्व हुने गरी सबैको सहमतिमा सरकारलाई पूर्णता दिइने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर