अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने देशमा नेपाल पनि

एम्नेष्टी इन्टरनेशनलले एशिया-प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र संगठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरूमा नेपाल पनि रहेको बताएको छ ।

एम्नेष्टी इनटरनेशनलले विश्वको मानव अधिकारको अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार हननका घटनामा कमी नआएको निस्कर्ष सार्वजनिक गरेको हो ।

आज विश्वभर एकसाथ निष्कर्ष सार्वजनिक भएको प्रतिवेदनमा एशिया-प्रशान्त क्षेत्रमा रहेका भारत, बंगलादेश, इण्डोनेसिया, नेपाल, पाकिस्तान, श्रीलंका र थाइल्याण्डलगायतका देशहरूमा स्वतन्त्रता माग गर्नेहरूमाथि सरकारले स्वेच्छाचारी गिरफ्तार गर्ने, लामो समय हिरासतमा राख्ने काम निरन्तर गरिरहेको तथ्य सार्वजनिक गरेको हो । नेपाललगायतका देशमा अधिकार माग गर्ने व्यक्ति तथा समूहलाई दबाउन अत्याधिक बल गर्ने तथा घातक बल प्रयोग भएको बताएको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले नेपालको सबै सरकारले निरन्तर दमन गर्ने र असहिष्णु व्यवहार गर्ने गरेको बताए ।

मंगलबार सार्वजनिक भएको प्रतिवेदनमा विकसित र ठूला भनिएका देशहरूले मानव अधिकारको विषयमा दोहोरो मापदण्ड देखाएको सार्वजनिक गरिएको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक अस्मिता सापकोटाले मानव अधिकारका सवालमा विभिन्न देशहरूले विषयअनुसार फरकफरक धारणा बनाएको र त्यसैअनुसार व्यवहार गरेर मानव अधिकार संरक्षणमा दोहोरो मापदण्ड बनाएको बताइन्।

एम्नेष्टी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनमा मुख्यगरी विश्वभर असहमतिको निर्मम दमन भइरहेको, राज्यले अधिकार संरक्षण नगर्दा महिलाहरू मारमा परेको मानवताका निम्ति रहेका खतराहरूविरुद्धको विश्वव्यापी कारबाही खेदजनक रहेको भन्न अपर्याप्त रहेको बताएको छ । प्रतिवेदनले विभिन्न देशहरूले मानव अधिकार रक्षाको सवालमा निर्लज्ज भएर दोहोरो मापदण्ड स्थापित गदै गएको बताएको छ ।

नेपालको विषयमा प्रतिवेदनमा हास्य कलाकारको प्रस्तुतिमा सरकारले दोहोरो मापदण्ड बनाएको, मिटरब्याजपीडितहरूको आन्दोलनमा प्रहरी लगाएर निर्ममतापूर्वक दमन गरेको उल्लेख छ । त्यस्तै प्रतिवेदनमा नागरिकता प्राप्ति गर्ने समान अधिकारबाट वञ्चित गरेको पनि उल्लेख गरेको छ । एम्नेष्टी इन्टरनेशनलले मार्च २८ का दिन विश्वभर एकसाथ मानव अधिकारसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर