न्यायिक समिति राष्ट्रिय मञ्चको संयोजकमा सुनिता डंगोल, ११ बुँदे काठमाडौं घोषणापत्र जारी

न्यायिक समिति राष्ट्रिय सम्मेलनले ११ बुँदे न्यायिक समिति काठमाडौं घोषणापत्र, २०७९ जारी गरेको छ ।

बुधबार र बिहीबार दुई दिने काठमाडौं महानगरपालिकाले काठमाडौंमा आयोजना गरेको न्यायिक समिति राष्ट्रिय सम्मेलनले संविधानतः गठित न्यायिक समितिको भूमिकालाई थप प्रभावकारी बनाई सर्वसाधारणको न्यायमा सहज पहुँच कायम गरी जनउत्तरदायी न्याय व्यवस्था कायम गर्न स्थानीय तहको न्यायिक समिति काठमाडौं घोषणापत्र, २०७९ जारी गरेको हो ।

सम्मेलनमा दुई दिनसम्म भएका छलफलबाट स्थानीय न्याय प्रशासन तथा न्याय सम्पादनका विषयमा वृहत्तर छलफल गरी आफ्नो अधिकार क्षेत्रभित्रको विवाद निरूपण गर्ने उद्देश्यले घोषणापत्र जारी गरिएको सम्मेलन संयोजक सुनिता डंगोलले बताइन् । उनले समतामूलक समाजको निर्माण गर्ने संवैधानिक संकल्पलाई व्यवहारमा उतार्न सबैका लागि न्यायमा सहज पहँुच सुनिश्चित हुनुपर्ने आवश्यकता रहेको बताइन् ।

काठमाडौं महानगरपालिकाकी उपमेयरसमेत रहेकी डंगोलले नेपालको संविधान, प्रचलित कानून र न्यायका मान्य सिद्धान्तका आधारमा स्थानीयस्तरमा उत्पन्न हुने विवादको समाधान छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी विधि र प्रक्रिया अवलम्बन गरी सबैका लागि न्यायमा सहज पहँुच सुनिश्चित गर्ने घोषणा गरिन् ।

उनले विवादको समाधान सकेसम्म मेलमिलापको माध्यमबाट गर्न वडास्तरीय मेलमिलाप केन्द्र सञ्चालनलाई विशेष जोड दिने बताइन् । डंगोलले स्वच्छता, निष्पक्षता, निश्चितता, समानता र समन्यायसहितको अनुमानयोग्य न्यायिक पद्धति आत्मसात हुने गरी स्थानीय कानून तर्जुमा गर्ने बताइन् । साथै न्यायिक समितिबाट भएका मिलापत्र वा निर्णय कार्यान्वयनलाई विशेष प्राथमिकता दिने बताइन् ।

उनले स्थानीय न्याय प्रशासनलाई सक्षम र सुदृढ बनाउन दक्ष जनशक्तिको व्यवस्था, नियमित प्रशिक्षण, पारदर्शी र प्रभावकारी न्याय प्रणालीको विकास गर्ने बताइन् । उनले सूचना प्रविधिको उच्चतम उपयोग गरी गुणस्तरीय न्याय सम्पादनको कामलाई स्रोत साधनसम्पन्न बनाउन क्रियाशील हुने बताइन् ।

उनले न्यायिक समिति राष्ट्रिय सम्मेलनबाट न्यायिक समिति मञ्चको संस्थागत संरचना निमार्ण गर्ने निणर्य गरेको पनि बताइन् । उनले न्यायिक समितिको काम कारबाहीलाई व्यवस्थित, प्रभावकारी र गुणात्मक बनाउन न्यायिक समितिका पदाधिकारीहरुबिच निरन्तर सम्पर्क, समन्वय र सञ्चार गर्न राष्ट्रिय मञ्च, प्रदेश मञ्च र जिल्ला मञ्च गठन गर्ने बताइन् ।

उनले न्यायिक समिति राष्ट्रिय मञ्च (तदर्थ) मञ्चको गठनक लागि काठमाडौं महानगरपालिकाकाी उपप्रमुख सुनिता डंगोल संयोजक र सम्मेलनका सहभागीहरूमध्येबाट गठन गरिएको विभिन्न चारवटा समितिहरूले आफूमध्येबाट छनोट गरेका ५÷५ जनाका दरले जम्मा २० जना सदस्य रहेको समिति गठन गर्ने र सो समितिले १ महिनाभित्र विभिन्न पदाधिकारीसहितको २१ सदस्यीय न्यायिक समिति राष्ट्रिय मञ्च (तदर्थ समिति) गठन गरिने बताइन् । उनले न्यायिक समिति प्रदेश मञ्च, न्यायिक समिति जिल्ला मञ्चसमेत गठन गर्ने बताइन् ।

सम्मेलनले विवाद निरूपण वा न्याय सम्पादनको काम गर्दा नेपालको संविधान, प्रचलित कानून, कार्यविधि, न्यायका मान्य सिद्धान्त, अदालतबाट भएका आदेश वा फैसलासमेतको पूर्ण परिपालना गर्न सुनिश्चित गर्ने घोषणा पनि गरेको छ । त्यस्तै न्याय सम्पादनमा नैतिकता, निष्ठा र इमानदारिता कायम राख्न न्यायिक समितिको आचारसंहिता जारी गरी परिपालना गर्ने, न्यायिक समितिको कार्य, अनुभव र अपेक्षाका विषयमा निरन्तर छलफल गर्ने, अन्तरक्रिया गर्ने र दिशाबोध गर्ने कार्यलाई निरन्तरता दिनेसमेत घोषणा गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *