मिटरब्याजपीडितहरूलाई आजै प्रधानमन्त्रीले भेट्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजपीडितहरूसँग भेट गर्ने भएका छन्।

शुक्रबार गृह मन्त्रालयमा मिटरब्याजपीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरूसँग भेट गर्ने प्रतिबद्धता सरकारबाट आएसँगै शनिबार पुनः छलफल गर्ने गरी आजको छलफल टुंगिएको हो ।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मिटरब्याजपीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको बताए । उनले सरकारसँगको छलफल पनि सकारात्मक रहेको बताए । उनले आफूले देशकै गम्भीर समस्या उठाएकाले यसमा सबैको साथ रहनुपर्ने बताए ।

मिटरब्याजविरुद्धको संघर्ष समिति, नेपालले तमसुक व्यवस्था खारेज गर्न, मिटरब्याजपीडितहरूको पक्षमा कानून निर्माण गर्न, चेक वा तमसुकबाट लेनदेनको मुद्दा दर्ता भएपछि सम्पत्तिको स्रोत खोजी गरी कानून निर्माण गर्न, साहुकारहरूको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था वा जसले आफ्नो सम्पत्ति ठगी गरेको दाबी गर्छ उसकै नाममा फिर्ता हुने कानूनी व्यवस्था गर्न माग गरेको छ ।

त्यस्तै पीडक साहुकारमाथि ठगी र विश्वसघातका मुद्दा दर्ता सहज ढंगबाट हुने व्यवस्था गर्न, अदालतबाट पक्राउ पुर्जी काटेको हकमा उल्लेखित प्रक्रिया पूरा भएपछि मात्र कार्यान्वयनमा जाने व्यवस्था गर्न, तमसुकका आधारमा अदालतमा चलाइएको मुद्दा तत्काल स्थगन गर्न, बैंकहरूबाट सहज र सरल रूपमा पाउने व्यवस्था गर्न, वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि सरकारको ग्यारेन्टीमा बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्न र कानून निर्माण गरी राजपत्रमा प्रकाशित नगरेसम्म र अधिकारसम्पन्न आयोग गठन नगरेसम्म आन्दोलन जारी रहने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर