सरकारले तोकेका पर्यटकीय गन्तव्यमा पथप्रदर्शकबिना घुम्न जान नपाइने व्यवस्था लागू

नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) सुरुवात भएको छ।

शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन्।

नेपालमा पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा सुविधा र सुरक्षालाई प्रत्याभूत गर्न र पदयात्रामा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) सुरु गरिएको हो। यो मापदण्ड आजबाट नै लागू हुनेछ।

पदयात्री एवं पथप्रदर्शक वा सहयोगीको सुरक्षालाई प्रत्याभूत गर्न पदयात्रामा जाने पदयात्रीका लागि सम्बन्धित कम्पनीले टिप्स अनुमतिपत्र लिनुपर्नेछ। अर्थात्, अबबाट कोही पनि समूहमा मिलेर जटिल स्थानतर्फ विशेष गरी हिमालय क्षेत्रतर्फ एक्लै र समूहमा मिलेर बिनागाइड जान नपाइने भएको हो। तर, हिमाल आरोहण अनुमतिपत्र लिई हिमाल आरोहण जाने आरोहीले टिप्स अनुमतिपत्र लिनु पर्नेछैन। अध्यागमन विभागबाट अनुमतिपत्र लिई नेपाल सरकारले तोकेका निषेधित क्षेत्रमा जाने पर्यटकको लागि टिप्स अनुमतिपत्र अनिवार्य नहुने बताइएको छ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले यो व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन उल्लेख्य भूमिका खेल्ने बताए। उनले आफ्नै पालोमा पर्यटन क्षेत्रलाई उकास्ने प्रतिबद्धता जनाए।

कार्यक्रमपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले आजबाट नेपाल पर्यटन बोर्डले ट्रेकिङ इन्फरमेशन म्यानेजमेण्ट सिस्टमलाई लिएर नयाँ नियम जारी गरेको बताए। उनले कोही पनि व्यक्तिले नेपालमा आजसम्म आफूले चाहेका ठाउँमा टिम लिएर जानसक्ने व्यवस्था रहे पनि अबबाट भने अनिवार्य रूपमा पथप्रदर्शक लैजानुपर्ने व्यवस्था लागू गरेको बताए।

नेपालमा प्रत्येक सिजनमा घुम्न गएका पदयात्रीहरू हराउने, मृत्यु हुने घटना बढेकाले सुरक्षाका लागि यो व्यवस्था लागू गरिएको बताए। उनले पथप्रदर्शक लैजानैपर्ने व्यवस्थाले पदयात्राको क्षेत्र सुरक्षित हुने, रोजगारीको अवस्था सिर्जना हुने र नेपालका अहिलेसम्म पथप्रदर्शक नभएका कारण चाहेको ठाउँमा पुग्न नसकेका पर्यटकका लागि सुरक्षित अवस्था आउने बताए।

त्यस्तै ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपालका अध्यक्ष निलहरि बाँस्तोलाले यस व्यवस्थालाई कार्यान्वयको पक्षमा लैजान संस्था प्रतिबद्ध भएर लाग्ने बताए। उनले सरकारले जटिल स्थानहरूलाई पथप्रदर्शकबिना जान र अनुमति लिएर मात्रै जाने क्षेत्रहरू सीमांकन गरेको र यो व्यवस्थाले नेपालमा पर्यटकको आवागमनलाई झनै व्यवस्थित बनाउने बताए। उनले कतिपय क्षेत्रबाट भने यो व्यवस्था हुन नहुने माग पनि आइरहेको बताए।

कञ्चनजंगा बेसक्याम्प, लुम्बासुम्बा पास ट्रेक, मकालु हिमाल बेस क्याम्प, शेर्पेनी क्लोज पास ट्रेक, एभरेष्ट बेस क्याम्प, गोकियो ट्रेक, च्छो ल्हा पास ट्रेक, गोकियो रेन्जो ला पास ट्रेक, हुम्ला लिमी भ्याली, उपर डोल्पा, राउण्ड धौलागिरि, उपर मुस्ताङ ट्रेक, अन्नपूर्ण सर्किट ट्रेक, मनास्लु हिमाल, गणेश हिमाल, लाङटाङ, गोसाइँकुण्ड, हेलम्बु, पाँचपोखरी, च्छो रोल्पालगायतका स्थलहरूमा अनिवार्य रूपमा पथप्रदर्शक आवश्यक पर्नेछ। यी क्षेत्रमा पदयात्रीको साथमा जाने १० वर्षभन्दा कमका बालबालिकाको हकमा भने अनुमतिपत्र लिनु नपर्ने बताइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *