उपनिर्वाचनमा हेभिवेट भीडन्त, दुई पूर्वप्रहरी अधिकारीले पाउलान् संसद् प्रवेश ?

आगामी २० वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा हेभिवेट भीडन्त हुने भएको छ । तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुन लागेको हो । तनहुँका सांसद रामचन्द्र पौडेल राष्ट्रपति, बाराका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । यस्तै, चितवनबाट निर्वाचित रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएको हो ।

तीनवटा निर्वाचन क्षेत्रमा नै चर्चित र पार्टीका प्रमुख नेता नै उम्मेदवार भएकाले उपनिर्वाचनमा सम्पूर्ण देशवासीको चासो देखिएको हो । तनहुँ–१ मा कांग्रेसबाट गोविन्द भट्टराईले आज मनोनयन दर्ता गराएका छन् । उनी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । यसअघि कांग्रेसले जितेको र अहिले सत्ता गठबन्धनको पनि साथ रहेकाले भट्टराईको पल्लाभारी देखिन्छ ।

तर, उनको मुख्य चुनौती राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले र नेकपा एमालेका सवेन्द्र खनालको हुनेछन् । अर्थशास्त्री वाग्ले हालैमात्र कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका हुन् । यस्तै खनाल अवकाश प्राप्त प्रहरी महानिरीक्षक हुन् । यसअघि काठमाडौं निर्वाचन हारेका खनाललाई एमालेले फेरि तनहुँमा उम्मेदवार बनाएको हो ।

तनहुँमा अन्य दलका उम्मेदवारमा राप्रपाकी शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना पनि छन् ।

चितवनमा रास्वपाका सभापति रवि लामिछानेले नै पुनः मनोनयन गराएका छन् । यसअघि पहिलोपटक उम्मेदवार बन्दा नै निर्वाचन जितेका उनी पुनः उपनिर्वाचन जितेर संसद प्रवेश गर्ने दाउमा छन् । यसपटक उनीविरुद्ध कांग्रेसले युवानेता जितनारायण श्रेष्ठलाई लामिछानेविरुद्ध खडा गराएको छ ।

एमालेले भने रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । न्यौपाने एमाले चितवन जिल्ला अध्यक्ष हुन् । उनी गत निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बने पनि कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई एमालेले समर्थन गरेपछि न्यौपानेको उम्मेदवारी फिर्ता गरिएको थियो ।
बारा–२ मा सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा गत निर्वाचनमा जसपाले जित हासिल गरेको थियो ।

सप्तरीबाट चुनाव हारेका यादवले बाराबाट संसद् प्रवेश रणनीति बनाएका छन् । तर, उनलाई मधेशवादी दल जनमत पार्टीकै मुख्य चुनौती हुनेछ । यहाँ जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई आफ्नो उम्मेदवार बनाएको छ । गत निर्वाचनमा माओवादी केन्द्रबाट यही क्षेत्रमा उम्मेदवारी बनेका कुशवाह यसपटक जनमत प्रवेश गरी उम्मेदवार बनेका हुन् । गत निर्वाचनमा कुशवाह जसपाका रामसहायप्रसाद यावदसँग पराजित भएका थिए ।

उनीहरुलाई रास्वपाका उम्मेदवार रमेश खरेलले चुनौती दिनेछन् । खरेल अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुन् । यस्तै, एमालेका पुरुषोत्तम पौडेल, नेमकिपाका मुक्ति यादव पनि उम्मेदवार छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर