राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउन गगन थापाको आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौती गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या खटाउन आग्रह गरेका छन्।

बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका हुन्।

उनले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरू सबैले अत्यावश्यकबाहेकको खर्चलाई कटौती गर्नुपर्ने बताए। सरकार खर्चमा मितव्ययी हुनुपर्ने उनको भनाइ छ।

महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजीगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताए। यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए।

उनले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग पनि संवाद गर्नुपर्ने बताए। स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै उनले एमालेसँगको संवाद र सहकार्य आवश्यक रहेको बताए।

त्यस्तै सरकार र नेपाल राष्ट्र बैंकका बीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उनले बताए। महामन्त्री थापाले राष्ट्र बैंक र सरकारको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्ने बताए।

महामन्त्री थापाले सरकार दौडिनुपर्ने अवस्था भए पनि तुना बाँध्नमै अल्मल्लिएको टिप्पणी गरे। उनले सरकार अल्मल्लिएको भन्दै दौडिन सुरु गर्नुपर्नेमा जोड दिए। उनले आगामी ५/६ महिनामा सरकारले नागरिकहरूलाई सरकारले काम गर्न सुरु गर्‍याे र लक्ष्यमा पुग्छ भन्ने भरोसा दिलाउन सक्नुपर्ने बताए।

महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन आग्रह पनि गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर