चितवनका राजनीतिक दलहरूले थाले उपनिर्वाचन लक्षित कार्यक्रम

चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन् ।

स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले औपचारिक रूपमा आजदेखि घरदैलो कार्यक्रम सुरु गर्दै छन् ।

कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलका अनुसार उम्मेदवारी दर्तासँगै प्रचारप्रसार सुरु गरेको भए पनि औपचारिक रूपमा आजदेखि घरदैलो गरिँदै छ ।

जिल्लामा हुन लागेको निर्वाचन केका कारणले हो भन्ने विषयमा समेत मतदातालाई प्रष्ट पार्दै घरदैलो गरिने श्रेष्ठले जानकारी दिए । उनले भने, ‘आजदेखि घरदैलो सुरु भएको छ । हामीले जनताको विश्वास र मत दुवै पाउने विश्वास छ ।’ घरदैलो कार्यक्रमका लागि कांग्रेस शीर्ष नेतृत्व जिल्ला आउने कार्यक्रम रहेको छ ।

कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालगायतका नेता घरदैलो कार्यक्रममा सहभागी हुन जिल्ला आउने कार्यक्रम रहेको उनले जानकारी दिए । सत्ता गठबन्धनले भरतपुर महानगरपालिका-३ बाट घरदैलो कार्यक्रमको सुरुआत गर्दै छ ।

नेकपा एमाले चितवनले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेको छ । इच्छाकामना गाउँपालिका-१ हात्तीवाङबाट घरदैलो अभियान सुरु गर्न लागेको एमालेका जिल्ला उपाध्यक्ष कमल पाठकले जानकारी दिए ।

नेकपा एमालेले विगत एक महिनादेखि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरेकाले घरदैलो कार्यक्रमलाई सहज हुने उनले बताए । मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा गुमेको शाखलाई फिर्ता गर्ने दाउँमा एमाले रहेको उनले बताए ।

उनका अनुसार एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचन समय अवधिभर जिल्लामा रहनेछन् । घरदैलो कार्यक्रमसँगै निर्वाचन लक्षित अन्य कार्यक्रम समेत गरिने पाठकले जानकारी दिए । घरदैलोका क्रममा कोणसभासमेत गरिने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेसँगै घरदैलो तथा कार्यक्रता भेटघाटलाई तीव्र पारेका छन् ।

उनका निजी सचिव प्रकाश सिग्देलका अनुसार मनोनयन दर्ता गर्नुअघिदेखि नै निर्वाचनको तयारी गरिएको हो । मनोनयन दर्तासँगै दलका नेता कार्यक्रर्ता भेटघाटलगायत काममा व्यस्त भइरहेको उनले बताए ।

कालिका नगरपािलका-५ बाट घरदैलो कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिँदै सिग्देलले रास्वपाले घरदैलो कार्यक्रमलाई तीव्र बनाउने बताए । घरदैलोका क्रममा कोणसभा केही स्थानमा हुने उनको भनाइ छ ।

सत्ता गठबन्धनसहित तीन दलहरू र अन्य साना दलहरूले समेत निर्वाचन लक्षित आफ्ना कार्यक्रमलाई तीव्र बनाएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी जिल्लामा आएर आफ्नो पार्टीका चुनावी कार्यक्रममा सहभागी भएका छन् । अन्य साना दल र स्वतन्त्र उम्मेदवारले समेत प्रचारप्रसारमा जुटिरहेका छन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा चितवन-२ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहरिएपछि सांसद पद खारेज भएको थियो ।

लामिछानेको सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन् ।

उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर