नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई नेता खाणको आग्रह

सत्तारूढ नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्।

संघीय संसदको दुवै सदनले पास गरी दोस्रो पटक पठाइएको सो विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहीनहरूलाई नागरिकता दिने कानूनी प्रबन्ध गर्नुपर्ने उनको भनाइ छ।

आइतबार नेपाल प्रेस युनियन, धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाणले सो विधेयक प्रमाणीकरणका लागि आवश्यक वातावरण बनाउन सरकार र राजनीतिक पार्टीहरूको पनि ध्यानाकर्षण गराए।

संविधानअनुसार संघीय संसदको दुवै सदनले पास गरी दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएर बसेको छ। सो विधेयक तत्काल प्रमाणीकरण गरी कानूनको अभावमा नागरिकता नपाएकाहरूलाई नागरिकता दिने कामको थालनी गर्नुपर्ने पनि नेता खाणले बताए।

नेता खाणले संविधानको प्रावधानअनुसार नै आएकाले सो विधेयकलाई प्रमाणीकरण गर्न ढिलाइ गर्नुपर्ने कुनै कारण नरहेको बताए। उनले वैशाख १० गते हुने बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ को उपचुनाव सकिएलगत्तै सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो हुने गरी सत्तारूढ दलहरूले प्रदेश सरकार पुनर्गठन गर्ने पनि स्पष्ट पारे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर