बागमती सरकारमा कांग्रेस सहभागी, नवनियुक्त दुई मन्त्रीले लिए शपथ

बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले आज पद र गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त दुवै जना मन्त्रीलाई पद र गोपनीयताको शपथ आज साँझ गराएका हुन् ।

मुख्यमन्त्री शालिकराम जमरकट्टेलले नेपाली कांग्रेसका तर्फबाट बहादुरसिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामालाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त गरेका थिए । उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

बागमती प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको संयुक्त गठबन्धनबाट जमरकट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । जसमा आर्थिक मामिला तथा योजनामन्त्री नेकपा एमालेका जगन्नाथ थपलिया र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राप्रपाका उद्धव थापा नियुक्त भएका थिए ।

माघ ४ गते विश्वासको मत पाएसँगै मुख्यमन्त्री जमरकट्टेलले एमाले र राप्रपाको गरी थप तीन जना मन्त्री नियुक्त गरेका थिए । फागुन १३ गते बागमती सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको थियो । सोही दिन राप्रपाका तर्फबाट मन्त्री बनेका तीन जनाले पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्री जमरकट्टेलले चैत १० गते पुनः विश्वासको मत लिने क्रममा एमालेले विश्वासको मतको विपक्षमा मतदान गर्दै सरकारबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर