नागरिकता विधेयक अगाडि बढाउँछौं : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन्। प्रेस सेन्टर रूपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रूपमै नागरिकताको अधिकार भएकाहरूलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताएका हुन्।

‘मैले गृहमन्त्रीका रूपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधानअनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ,’ उनले भने, ‘संविधानअनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाउँछौं।’

उनले नागरिकतासम्बन्धी केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेको बताए। त्यसबारेमा सबै राजनीतिक पार्टी एवं राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्वसँग छलफल गरिने उनको भनाइ छ।

उनले संक्रमणकालीन न्यायसम्बन्धी काम अझै पनि बाँकी रहेकाले यसलाई पूरा गरिनुपर्ने बताए। यो पूरा भए मात्रै शान्ति प्रक्रिया समग्रमा पूरा हुने मन्त्री श्रेष्ठको भनाइ छ।

‘यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘यसका लागि हामी फेरि पनि संसदमा प्रवेश गरेका छौं। यो कामलाई पूर्णता दिन्छौं।’

उनले अर्थतन्त्रमा तत्काल देखा परेका समस्यालाई समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सके मात्र समृद्धि हासिल हुने भन्दै अर्थतन्त्रको समस्या पहिचान गर्न र यसको समाधानको उपायबारे विज्ञहरूसहित बैठक बस्ने तयारी भइरहेको जानकारी दिए।

‘अर्थतन्त्र सुधारमा प्रधामन्त्री आफैं अग्रसर हुनुहुन्छ। मन्त्रिपरिषदले मूलभूत रूपमा पूर्णता पाएको अवस्थामा अब हामी समृद्धिको लक्ष्य पूरा गर्न समर्पित रूपमा लाग्नेछौं,’ उनले भने।

उनले आफूले गृह मन्त्रालय सम्हालेदेखि नै सुशासनमा जोड दिएको भन्दै प्रशासनिक र सुरक्षा निकायमा कतै पनि राजनीतिक दबाब र अन्य दबाबले भूमिका खेल्न नपाओस् भनी आफू सतर्क रहेको बताए।

‘जनतालाई सहज ढंगले सेवा दिने र शान्तिसुरक्षा सुनिश्चित गर्दै शान्तिपूर्ण वातावरणमा जीवन गुजार्न पाउने अधिकारको सुनिश्चित गर्न चाहन्छौं,’ उनले भने, ‘यससँगै कालोबजारी, अपराध नियन्त्रण गर्ने काम गर्छौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर