कांग्रेसको शेखर-गगन समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने

नेपाली कांग्रेसको शेखर कोइराला-गगन थापा समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। बिहीबार बिहान बसेको बैठकमा नेता कोइराला र महामन्त्री थापाले आफूहरूलाई तीन मन्त्री र एक राज्यमन्त्री दिने गरी सभापति शेरबहादुर देउवासँग सहमति भएको ब्रिफिङ गरेका छन्।

बैठकमा सहभागी एक नेताले तीन मन्त्री र एक राज्यमन्त्री आफूहरूले पाउने ब्रिफिङ नेता कोइराला र महामन्त्री थापाले गरेको बताए। उनका अनुसार मन्त्रिपरिषद भने उपनिर्वाचनपछि मात्र विस्तार गर्ने तयारी छ।

सत्ता गठबन्धनमा यसअघि कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो। जनमत पार्टी सरकारबाट बाहिरिएपछि कांग्रेसको भागमा एक मन्त्रालय थपिएको छ।

यसअघि चैत १७ मा मन्त्रिपरिषद विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन्। अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र शहरी विकासमन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन्।

अहिले प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसको भागमा कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ।

बाँकी मन्त्रालयमा नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी छ। शेखर-गगन समूहबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, डिगबहादुर लिम्बू, सुरेन्द्र आचार्यको नाम मन्त्रीका लागि चर्चामा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर