उत्तर प्रदेशमा पूर्वसांसद दाजुभाइको प्रहरीकै सामुन्ने गोली हानी हत्या

उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या गरिएको छ।

उत्तर प्रदेश प्रहरीले पूर्वसांसद अहमद र उनका भाइको हत्या भएको पुष्टि गरेको छ। बीबीसी हिन्दीले प्रहरीलाई उद्धृत गर्दै आक्रमणकारीहरू पत्रकार बनेर आएको जनाएको छ। तीनै आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई लिएर उच्चस्तरीय बैठक गरेका छन्। योगी आदित्यनाथले यस विषयमा उच्चस्तरीय छानबिनको आदेश दिएका छन्। घटनाको छानबिन गर्न तीन सदस्यीय न्यायिक आयोग पनि गठन गरिएको छ।

घटनाबारे जानकारी दिँदै प्रयागराजका प्रहरी आयुक्तले भने, ‘अतीक अहमद र उनका भाइ अशरफलाई कानूनी आवश्यकताहरू पूरा गर्न मेडिकलका लागि लगिँदै थियो। त्यही क्रममा यो घटना भयो।’

अतीक अहमद र उनका भाइ अशरफमाथि आक्रमण हुँदा प्रहरीले उनीहरूलाई प्रयागराजको कोल्भिन अस्पतालमा मेडिकल चेकअपका लागि लगेको थियो।

अस्पताल नजिकै प्रहरीले घेरिएका अतीक र अशरफलाई पत्रकार भनी आक्रमणकारीले नजिकबाट गोली हानेका थिए र उनीहरूको मृत्युपछि धार्मिक नारा लगाएका थिए।

प्रयागराजका प्रहरी आयुक्त रमित शर्माले भने, ‘पत्रकार अतीक अहमद र उनका भाइसँग कुरा गरिरहेका थिए, त्यहीबीच पत्रकारको रूपमा प्रस्तुत भएका आक्रमणकारीहरूले अचानक गोली चलाए। तीनै आक्रमणकारीलाई पक्राउ गरिएको छ।’

प्रहरीका अनुसार घटनामा एक प्रहरी घाइते भएका छन् भने एक पत्रकार पनि सामान्य घाइते भएका छन् ।

आक्रमणपछि प्रहरीले अस्पताल वरपरको क्षेत्रमा नाकाबन्दी गरेको छ।

अतीक अहमद पूर्वसांसद थिए। उनका भाइ पनि पूर्वविधायक थिए। दुवै भाइको लामो आपराधिक इतिहास छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर