प्रतिनिधिसभा बैठकको शून्य समयमा कसले के भने?

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्यहरूले समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य विक्रम पाण्डेले समयमै किसानहरूका लागि मल आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले समयमा मल प्राप्त हुन नसक्दा देशको कुल गार्हस्थ उत्पादनमै असर परेको बताए।

प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले देशका १८ देखि ४० वर्षभित्रका युवाहरू नेपालभित्रै बस्ने बातावरण कहिले बन्छ भनी सरकारलाई प्रश्न गरिन्। उनले नेपालमा व्यवसायहरू धराशायी भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिनिधिसभा सदस्य बिना लामाले सुरक्षा निकायले जनताको जिउधनको सुरक्षा दिन नसकेको भन्दै आपत्ति जनाइन्।

प्रतिनिधि सभा सदस्य विनोदकुमार चौधरीले सुस्ता र गण्डकमा हरेक वर्ष हजारौं परिवार डुबानमा पर्ने समस्या रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यस विषयलाई उठाउन आग्रह गरे।

प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले सुदूरपश्चिमको राजधानी अहिलेसम्म निर्माण हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै राजधानी कसले बनाउने हो भनी प्रश्न गरे।

प्रतिनिधि सभा सदस्य बिना जैसवालले नेपालमा हिन्दू राष्ट्र कायम हुनुपर्ने धारणा राखिन्।

प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले मिटरब्याजपीडित किसानहरूको समस्या समाधान गर्न सरकारलाई आग्रह गरिन्।

प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले संसदमा उठ्ने प्रश्नहरूको राम्ररी अभिलेख राख्नुपर्ने बताइन्। उनले संसदमा सोधिएका प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट जवाफ आए, नआएको पनि रेकर्डमा राख्नुपर्ने बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर