चिनियाँ पर्यटक : नेपाली व्यवसायीलाई ‘व्यापार शून्य’

कोरोना संक्रमणका कारण पछिल्लो केही वर्षयता नेपालको पर्यटन व्यवसाय सुस्ताएको छ । त्यही कारण एक साताअघि नयाँ वर्षको छेको पारेर १८१ जना चिनियाँ पर्यटक काठमाडौं आइपुगेपछि यो विषयले सञ्चारमाध्यममा राम्रै स्थान पायो । चिनियाँ समूह विमान चार्टर्ड गरेर काठमाडौं आइपुगेका थिए । उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरेका थिए ।

पर्यटनमन्त्री किरातीले पनि उत्साहित हुँदै नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको प्रतिक्रिया दिए । उनले कोरोना महामारीका कारण लामो समय नेपालमा समूहमा घुम्न प्रतिबन्ध खुला हुनु नेपाल र चीनसँगको सम्बन्ध विस्तार भएको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकासका लागि चीनको योगदानको प्रारम्भ भएको पनि उल्लेख गरे ।

तर, पर्यटनमन्त्रीले उल्लेख गरेभन्दा विपरीत अनुभव पर्यटन व्यवसायीको छ । व्यवसायीका अनुसार चिनियाँ पर्यटक नेपालमा आए पनि खासै फाइदा छैन । त्यसको कारण हो, चिनियाँ पर्यटकले नेपालमा रहेका चिनियाँ व्यवसायीलाई नै प्राथमिकता दिनु । पोखरा पर्यटन व्यवसायी हरि बस्ताकोटी चिनियाँ पर्यटकले नेपाली व्यवसायीलाई प्राथमिकता नदिँदा उनीहरुको आगमन लाभदायक नभएको बताउँछन् ।

‘चिनियाँ पर्यटक आफ्नो देशको प्लेनमा आउँछन्, त्यसैमा फर्कन्छन् । उनीहरु नेपालमा पनि चिनियाँ होटलमा बस्छन्, चिनियाँ रेष्टुरेन्टमा नै खान्छन् । केही किन्नुपरे पनि चिनियाँ पसलमा नै किन्छन्,’ उनले भने, ‘यसरी घुमाउरो पारामा उनीहरुले खर्च गरेको रकम चीनतर्फ नै फर्किन्छ । अनि चिनियाँ पर्यटक आएर कसरी नेपाललाई फाइदा भयो ?’

विश्वका जुनसुकै देश घुम्न जाँदा पनि चिनियाँ पर्यटकले चिनियाँ लगानीलाई प्राथमिकता दिने र जहाँ खर्च गरे पनि त्यो पैसा चीन नै फर्काउने रणनीतिका कारण चिनियाँ पर्यटक आए पनि खासै उपलब्धि नहुने उनको तर्क छ । ‘चिनियाँ पर्यटकले नेपालमा आएर नेपाली व्यवसायीको होटलमा बसेमा, यहाँको उत्पादन उपभोग गरेमा मात्र त्यो पैसा नेपाली व्यवसायी, किसानसमक्ष पुग्छ, अनि मात्र समृद्धि सम्भव होला नि ?’ व्यवसायी बस्ताकोटीले भने, ‘चिनियाँ पर्यटकले खर्च गरेको रकम त रेमिट्यान्सको रुपमा उनीहरुको देशमा नै फर्किन्छ ? अनि कसरी हाम्रो देशको समृद्धि सम्भव हुन्छ ?’

अर्का पुराना पर्यटन व्यवसायी गणेश भट्टराई अब नेपाल मास टुरिजमभन्दा क्वालिटी टुरिजमतर्फ अघि बढ्नुपर्ने बताउँछन् । ‘नेपालमा आउने चिनियाँ तथा भारतीय धार्मिक पर्यटक थोरै समयका लागि आएका छन् भने खासै खर्च गर्दैनन्, लामो समय आउनेले मात्र अलिअलि खर्च गर्छन्,’ उनले भने, ‘पश्चिमा देशबाट आउने पर्यटकका कारण सन्तुलन मिलिरहेको थियो ।’ पछिल्लो समय कोरोना महामारीका कारण भारतीय र चिनियाँ पर्यटक घटेका छन् भने रुस–युक्रेन युद्ध लगायत कारणले पश्चिमा मुलुकबाट पनि पर्यटक कम आएका छन् । ‘अहिले बल्ल चिनियाँ र भारतीय पर्यटक आउन थाले पनि सन्तुलन मिलिसकेको छैन ।’

हाल नेपालले भुटानले जस्तो क्वालिटी टुरिजमलाई अंगीकार गरिहाल्ने अवस्था नभए पनि विश्वका मुख्य टुर एन्ड ट्राभल्ससँग सहकार्य गरेर पर्यटक भित्र्याउन सक्ने भट्टराईको भनाइ छ । ‘क्वालिटी टुरिजमका लागि सरकार र सरोकारवाला निकायले नै योजना तथा नीति निर्माण गर्न आवश्यक छ,’ उनले भने, ‘पर्यटन व्यवसायमा अहिले परेको समस्यालाई सरकारले नै प्राथमिकता दिएर समाधान गर्न सकिन्छ ।’

एकातिर चिनियाँ पर्यटक नेपाली व्यवसायीका लागि आम्दानीका आधार बन्न सकेका छैनन् भने सरकारले समेत उनीहरूका लागि भिसा शुल्क निशुल्क गरेकाले राज्यले समेत उनीहरूबाट राजस्व पाउँदैन।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ मा एक लाख ६५ हजार चिनियाँ पर्यटक आएका थिए । त्यसयता कोरोना संक्रमणका कारण चिनियाँ पर्यटकको संख्यामा कमी आएको छ । कोरोना महामारीपछि चीन सरकारले गत १० मार्चबाट नेपाललाई गन्तव्यको सूचीमा राखेको थियो । नेपाल गन्तव्य मुलुकमा परेपछि नेपाल आउने यो पहिलो समूह हो ।

गत जनवरीमा ५५ हजार ७४ पर्यटक विमानबाट नेपाल भ्रमणमा आएका छन् । जनवरी २०२२ भने विभिन्न देशबाट १६ हजार ४३६ पर्यटक नेपाल आएका थिए । सन् २०२२ भरिमा विभिन्न देशबाट विमानमार्फत ६ लाख १४ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । कोरोना महामारीअघि नेपालमा धेरै पर्यटक आउने देशमा पहिलोमा भारत र दोस्रोमा चीन थिए । महामारीपछि चिनियाँ पर्यटक कम आएका छन् ।

गत जनवरी एक महिनामा भारतबाट १६ हजार ४३६, अमेरिकाबाट ६ हजार ५६१, अस्ट्रेलियाबाट तीन हजार ४४१, बंगलादेशबाट दुई हजार ४६८ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *