सुडानमा सेना-अर्धसैनिक बलबीचको युद्धविराम सहमति भंग : मृत्यु हुने २७० पुगे, २,६०० घाइते

सुडानमा सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच मंगलबार साँझ ६ बजेदेखि लागू हुने गरी २४ घण्टाका लागि भएको युद्धविरामको सहमति भंग भएको छ।

दुई सुरक्षा निकायहरू युद्धविरामको अवधि नसकिँदै फेरि लडाइँमा होमिएका हुन्।

युद्धविरामको सहमति भंग भएसँगै लडाइँ थप चर्किएको छ। युद्धविराम भंगको आरोप दुवै संगठनले एकअर्कालाई लगाएका छन्।

समाचार एजेन्सी अलजजिराका अनुसार सुडानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै विश्व स्वास्थ्य संगठनले सेना र र्‍यापिड सपोर्ट फोर्सबीचको झडपमा हालसम्म २७० जनाको मृत्यु र २ हजार ६०० जना घाइते भएको जनाएको छ।

राजधानी खार्तुमको पूर्वी किनारमा बसोबास गर्ने एक महिलाले उनको घर नजिकै बिहान सबेरै हवाई आक्रमण र गोली प्रहार भएको बताइन्।

‘हामी सुत्न सकेनौं, ३ देखि ५ बजेसम्म मात्र अवस्था शान्त थियो,’ उनले भनिन्।

सुडानमा सेना र अर्धसैनिक बलबीच लडाइँ भएको आज पाँचौं दिन हो। गत शनिबारदेखि लडाइँ सुरु भएको थियो।

सुडानका सेना प्रमुख अब्देल फताह अल-बुरहान र मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको जारी द्वन्द्वले देशलाई गम्भीर अराजकतातर्फ धकेलेको छ। भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन् भने सहायताका काममा अवरोध उत्पन्न भएको छ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशीरलाई सत्ताच्यूत गरेपछि बुरहान र डगालोबीचको शक्ति संघर्षले लिएको उग्र रूपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो।

सुडानमा नागरिक शासन कसरी पुनःस्थपाना गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ। आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ।

सुडानमा जारी युद्ध लामो समयसम्म चर्कने चेतावनी विश्लेषकहरूले दिएका छन्। युद्धविरामका लागि क्षेत्रीय एवं विश्वव्यापी रूपमा आह्वान भए पनि सम्बद्ध पक्षले त्यसलाई बेवास्ता गरेका छन्। विश्व शक्ति राष्ट्रले वार्ताको माध्यमबाट समस्याको निकास खोज्न आग्रह गरेका छन् तर त्यसको सुनुवाइ भएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर