म्यानमार ‘कू’ को दुई वर्ष : गृहयुद्धले थलिँदै अर्थतन्त्र, हजारौंको मृत्यु

म्यानमारमा आङ साङ सूची नेतृत्वको सरकारलाई हटाएर सेनाले सत्ता कब्जा गरेको दुई वर्ष पुगिसकेको छ । त्यही बेलादेखि म्यानमार गृहयुद्धको चपेटामा छ, जसका कारण उक्त देशको अर्थव्यवस्थामा संकट देखिन थालेको छ । अर्कोतर्फ विद्रोही पक्षमाथि सेनाको हवाई आक्रमण पनि बढेको छ । सत्तामा सेनाको कब्जापछि पहिलोपटक म्यानमार जान पाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका जोनाथन हेडको यस्तो छ अनुभूति :

हालका दिनमा म्यानमारका धेरैजसो क्षेत्र पर्यटकका लागि निषेधित छ । म्यानमारको सैन्य सरकारले हामीलाई सान राज्यको इन्ले तालमा जान अनुमति दियो । केही वर्षअघि यो म्यानमारको सबैभन्दा लोकप्रिय स्थान मध्ये एक थियो । तर, अहिले यहाँ शान्ति छ । स्थानीयसँग सिधा कुरा गर्न जोखिम छ । यदि कसैको कुरा ठीक लागेन भने ऊ पक्राउ पर्न सक्छ ।

तर, डुंगा चलाउने व्यक्तिले समय यति धेरै खराब कहिल्यै नभएको हामीलाई बताए । उनले भने, ‘हामीले सपनामा यति धेरै नराम्रो हुन्छ भन्ने सोचेका थिएनौं । पहिला हामी स्वतन्त्र थियौं, तर अहिले त्यही स्वतन्त्रता पनि खोसिएको छ ।’

हामीले तालवरपर चक्कर लगायौं, तर ३ जना मात्र विदेशी पर्यटक भेट्यौं । यस्तो क्षेत्र, जसको अर्थव्यवस्था पर्यटकको आधारमा टिकेको छ, त्यसका लागि यो अवस्था निकै भयावह हो । यहाँका बासिन्दा जीवन त्यतिकै दयनीय छ । उनीहरुले सूचीको सरकारलाई मन पराउने र सैन्य सरकारको साथमा नरहेको बताए ।

तर उनीहरु यो कुरा खुलेर बताउन सक्दैनन् । किनकि तालको नजिकै सैन्य समूह छन् । एक स्थानीयले आफूहरुको चाहना शान्ति भएको बताए । तर, म्यानमार शान्ति निकै कम छ । हामी आउनु दुई साताअघि यो तालको दक्षिणतर्फ सेना र विरोधी पक्षबीच भीडन्त भएको थियो । जवाफी कारबाहीमा २० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको थियो ।

यस्तै, यही वर्षको सुरुवातमा सेना र विरोधी पक्षबीच भीडन्त भएको थ्यानथोङ क्षेत्रको पनि हामीले भ्रमण गर्‍याैं । त्यहाँ भीडन्तको क्रममा थुप्रै व्यक्ति पक्राउ परेका थिए । पहिले पर्यटकीय क्षेत्र रहेको यस क्षेत्रमा भएको भीडन्तले सैन्य सरकारविरुद्ध असन्तुष्टि बढ्दै गएको स्पष्ट पार्छ । तर, यसबारे स्थानीय खुलारुपमा कुरा गर्न चाहँदैनन् । बरु उनीहरुले बढ्दो महँगीबारेमा कुरा गरे ।

तर, याङवोनमा अवस्था सामान्य थियो । यद्यपि, सिटी हलका बारिकेडले भने असुरक्षाको संकेत गरिरहेको थियो । यहाँ धेरैपटक झडप भएको थियो । हजारौ राजनीतिक कैदी अझै जेलमा छन् । उनीहरुमध्ये एक अभियन्ता मैया ये, जो जेलमा बन्दमा उनले हामीसँग खुलेर कुरा गरे । उनले भने, ‘अहिले पनि सर्वसाधारणलाई विरोध प्रदर्शनका लागि खुला गरिदिने हो भने भोलिदेखि सडकमा मान्छे नै मान्छे देखापर्छन् । पुरानो अनुभवबाट हामी भन्न सक्छौं, म्यानमारका जनता कुनै पनि प्रकारको तानाशाह मान्दैनन् ।’

बीबीसीका जोनाथनले सैन्य सरकारले उनलाई युद्ध प्रभावित क्षेत्रमा जान रोक लगाएको बताएका छन् । उनले इन्ले ताल वरपर क्षेत्रका स्थानीयसँगको कुराकानीपछि त्यहाँको जीवनस्तर खस्किँदै गएको महसुस गरेको बताएका छन् ।

बीबीसीका अनुसार म्यानमारका धेरैजसो क्षेत्रमा सेना र विरोधी पक्षबीच लडाइँ भइरहेको छ । सरकारी सेनाविरुद्ध युद्ध गर्दै आएको समूहलाई म्यानमारमा पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) भनिन्छ । सेनाले पनि विरोधी पक्षमाथि हवाई आक्रमण गर्दै आएको छ । सेनाले विद्यालय, स्वास्थ्य चौकी मात्र नभई कहिलेकाहीँ पूरा गाउँमाथि निशाना साँध्ने गरेको छ ।

सन् २०२१ देखि जनवरी २०२३ मा सेनाले ६ सय हवाई आक्रमण गरिसकेको बीबीसीले जनाएको छ । दुई साताअघि पनि जाङसाङ क्षेत्रमा यस्तो हवाई आक्रमण गरिएको र त्यसमा १६८ जनाको मृत्यु भएको आशंका छ । संयुक्त राष्ट्र संघले उक्त आक्रमणको विरोध गरेको छ । गृहयुद्धका कारण हजारौं मारिएको, १० लाख विस्थापित भएको र म्यानमारका एक तिहाई जनसंख्यालाई मानवीय सहायताको आवश्यकता रहेको बीबीसीले जनाएको छ । तर, हालसम्म यो गृहयुद्ध सकिने कुनै छाँटकाँट देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर