दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता पुरुषको शव भेटियो

दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदीपारि भारततर्फ फेला परेको हो ।

महाकालीपारि भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् ।

उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू-भाग धारचुला हुँदै घर फर्किदै गरेको ब्याँस गाउपालिका-२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए । नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन ।

‘जसोदाले समान लिन तुइन चढेर भारततर्फ आउन छोरा सिङ्दलसिंहलाई बोलाएकी जानकारीमा आएको छ,’ बुढाथोकीले भने, ‘तुइन प्रयोग गर्ने क्रममा उनी महाकालीमा बगेको आशंका गरिएको छ ।’

सिङ्दलसिंहको शव भारतीय भू-भागमा फेला परेकाले भारतीय सीमा सुरक्षा बलले कानूनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । मृतक भण्डारीका दुई छोरा र एक छोरी छन् । उनकी श्रीमतीको भने चार वर्षअघि निधन भएको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *