विद्युत आपूर्तिमा देखिएको समस्या १५ दिनभित्र समाधान हुन्छ : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका छन्।

आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका हुन्।

उनले पूर्वका उद्योगी व्यवसायीहरूले ४ दिनदेखि विद्युत कटौती गरेर लोडसेडिङ गरेको बताए पनि लोडसेडिङ नभएको दाबी गरे। उनले विराटनगर करिडोर क्षेत्रमा विद्युत लाइनमा प्राविधिक समस्या तथा सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा कमी भएका कारण विद्युत कटौती गरेको स्वीकार गरे।

घिसिङले विराटनगर औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा प्राविधिक समस्या आएकाले ४ दिन विद्युत लोड कटौती भएको बताए। उनले सुक्खा याममा मागअनुसार उत्पादन नहुने भन्दै अझ गत वर्षको भन्दा यो वर्ष राम्रो अवस्थामा प्राधिकरण रहेको बताए।

उनले गत वर्ष धेरै अफ्ठ्यारो अवस्थामा विद्युत आपूर्ति गरेको भन्दै विराटनगर औद्योगिक करिडोरमा देखिएको समस्या तत्काल समाधान हुने बताए। उनले अहिले उत्पादन घटेको भन्दै प्राधिकरणले अधिकांश औद्योगिक क्षेत्रको लोड कटौती गरेको बताए।

घिसिङले यो ‘सर्ट टर्म’ को समस्या भएको भन्दै १०/१५ दिनमा समाधान गर्ने प्रतिबद्धता जनाए। उनले यो वर्ष विद्युत आपूर्तिमा समस्या नहुने गरी काम गरिरहेको दाबी गरे।

उनले पूर्वमा सबस्टेशनको ब्रेकरमा समस्या आएकाले केही दिन आपूर्ति प्रभावित भएको बताए। उनले अहिले समस्या समाधान भइसकेको र शनिबारदेखि विराटनगरमा सामान्य रूपमा विद्युत प्रवाह भइरहेको बताए।

उनले गत वर्षको हिउँदको समयमा भन्दा यो वर्ष २५ देखि ३० प्रतिशतसम्म विद्युत उत्पादन घटेको बताए। उनले हिउँ र पानी नपरेकाले निजी क्षेत्रको उत्पादनसमेत १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताए।

उनले नेपालको कुल जडित क्षमता करिब २५०० मेगावाट पुगेको बताए। उनले स्थानीय माग धान्नका लागि ५०० मेगावाट विद्युत भारतबाट आयात भइरहेको बताए।

उनले पछिल्लो समय ५०० मेगावाट औद्योगिक लोड थपिएको भन्दै प्राधिकरणले माग गर्ने सबै उद्योगहरूको लोड स्वीकृत गर्ने गरेको बताए। उनले विद्युतको माग पूरा गर्नका लागि कुलेखानी जलाशययुक्त जलविद्युत आयोजना २४ सै घण्टा चलाइरहेको घिसिङले बताए। उनले बिहान बेलुकी पिक आवरमा भने दिन नसकिएको स्वीकार गरे।

घिसिङले आगामी १०/१५ दिनमा विद्युत मागमा रहेको समस्या समाधान हुने बताए। उनले यो वर्ष करिब २८०० मेगावाट विद्युत प्रणालीमा पुग्ने भन्दै नेपालको माग २००० मेगावाटसम्म पुग्ने अनुमान रहेको बताए।

उनले पिक आवरको माग भने करिब १७५० मेगावाट पुगेको बताए। उनले औसत विद्युतको माग करिब १३०० मेगावाट र बेस लोड १२०० मेगावाट रहेको बताए।

उनले विद्युत माग पूरा गरेर नेपालबाट करिब १२०० मेगावाट विद्युत निर्यात गर्र्ने गरी प्राधिकरणले योजना बनाइरहेको बताए। उनले जेठको पहिलो हप्ताबाट नै विद्युत निर्यात गर्ने बताए। उनले छोटो समयका लागि सुक्खाका कारण भएको समस्यालाई ठूलो समस्याका रूपमा लिन नहुने बताए।

उनले उद्योगहरूले अहिले लोडसेडिङ भयो भने पनि गत वर्ष उद्योग नचलेका कारण धेरै विद्युत खेर गएको बताए। उनले उद्योगीहरूले वर्षामा उद्योग नचलाउने भएकाले वर्षाको विद्युत खेर फाल्नुपर्ने अवस्था रहेको बताए।

उनले विद्युत मागअनुसार पाउनका लागि उद्योगहरूले तालिका बनाएर सञ्चालन गर्न आवश्यक रहेको बताए। जाडो महिनामा काठमाडौं र पोखरामा र गर्मी महिनामा तराईमा विद्युतको माग धेरै हुने गरेको उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर