नेपालमा गाउँपालिकाभन्दा नगरपालिकामा बस्नेको संख्या बढी

नेपालको कुल जनसंख्यामध्ये नगरपालिकामा बस्ने जनसंख्या सबैभन्दा बढी रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागले जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका निर्देशक ढुण्डिराज लामिछानेले नगरपालिकामा बस्नेहरुको कुल जनसंख्या १ करोड ९२ लाख ९६ हजार ७८८ (६६.२) प्रतिशत रहेको बताए ।

त्यस्तै गाउँमा बस्नेको संख्या ९८ लाख ६७ हजार ७९० (३३.८ प्रतिशत) रहेको बताए । २०६८ को जनगणनाअनुसार नगरपालिकामा बस्नेको संख्या १७.१ प्रतिशत थियो भने गाउँपालिकाहरुमा बस्नेको संख्या ८२.९ प्रतिशत रहेको थियो । नेपालको लैङ्गिक अनुपात प्रति सय महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ भने नगरपालिकाको ९६.०६ र गाउँपालिकाको ९४.६८ रहेको छ । कुल जनसंख्यामध्ये अन्य लिङ्गी को जनसंख्या २ हजार ९२८ रहेका छन्
भने उक्त संख्या नगरपालिकामा २ हजार ११८ र गाउँपालिकामा ८१० जना रहेको निर्देशक लामिछानेले बताए ।

२०६८ पछिको १० वर्षमा नेपालको वार्षिक औषत जनसंख्या वृद्धिद्धर ०.९२ प्रतिशत प्रतिवर्ष रहेको छ । नेपालमा कुल परिवारमध्ये पुरुष परिवारमुली रहेको परिवार ६८.५ प्रतिशत र महिला परिवारमुली रहेको संख्या ३१.५ प्रतिशत रहेको छ । नेपालमा जम्मा १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोवास गर्ने पाइएको छ ।

नेपालमा १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरु अविवाहित रहेका छन् । देशको कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । जनगणनाअनुसार जन्मस्थान र हालको बसोवास एउटै गाउँपालिका वा नगरपालिकामा भएका व्यक्तिहरू ६९.० प्रतिशत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *