‘ए’ डिभिजन लिग : पुलिसले मनाङलाई हरायो

सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार दोस्रो जित निकालेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको हो। १२ औं चरणमा दोस्रो जित निकालेको पुलिसले यसअघि सातौं चरणको खेलमा फ्रेण्ड्सलाई ३-१ गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो।

निकै रोमाञ्चक भएको खेलमा पुलिसले सातौं मिनेटमा पेनाल्टीबाट लिएको अग्रता नै स्पष्ट तीन अंक जोड्नका लागि पर्याप्त भएको हो। मनाङका डिफेन्डर रन्दीप पौडेलले पुलिसका विदेशी खेलाडी मोसेस टोएमलाई खराब फाउल गरेपछि पुलिसले पेनाल्टी प्रहारको मौका पाएका थियो। पेनाल्टी प्रहारमा आएका मोहम्मद आसिकले अवसरलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

पछि परेसँगै खेलमा फर्किन निकै मेहनते गरेको मनाङले केही अवसर पाए पनि सदुपयोग गर्न असफल रह्यो। यससँगै मनाङले लगातार पाँच खेलमा नतिजा सुम्पिएको छ। खराबलाई समाप्त गर्ने लक्ष्यसहित रेलिगेशनको अन्तिम स्थानमा रहेको पुलिसविरुद्ध मनाङले मंगलबार पनि खुलेर खेल्न सकेन र अंक सुम्पिन बाध्य बन्यो। यस जितसँगै पुलिसले १२ खेलबाट ९ अंक बनाएको छ भने पराजित मनाङको समान १२ खेलबाट १५ अंक छ।

लिगअन्तर्गत मंगलबार नै दशरथ रंगशालामा भएको खेलमा ललितपुरे टोली फ्रेण्ड्सले काठमाडौं न्युरोड टिम (एनआरटी) लाई ३-१ गोल अन्तरले स्तब्ध बनायो। फ्रेण्ड्सको जितमा राफिक अमिनु, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले समान एक/एक गोल गरे भने एनआरटीका सञ्जीव विष्टले एक गोल फर्काए। सुरुवातबाट नै आक्रामक हुँदै खेलेको फ्रेण्ड्सले १४ औं मिनेटमा अमिनुको गोलबाट अग्रता लिएको थियो। ४१ औं मिनेटमा सञ्जीवले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा ल्याउँदै टोलीलाई खेलमा फर्काएका थिए।

इन्जुरी समयमा फ्रेण्ड्सका जेब्रिनले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता निकाले त्यसपछि खेलको ७६ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई ३-१ को जित निश्चित गरे। यससँगै फ्रेण्ड्सले जारी लिगमा चौथो जित निकालेको छ। १२ खेल खेलेको फ्रेण्ड्सले तालिकामा १४ अंक पुर्‍याएको छ। यस्तै पराजित एनआरटीले १२ खेलमा १३ अंक जोडेको छ। एनआरटी फ्रेण्ड्सभन्दा एक स्थान मुनि ११ औं स्थानमा छ ।

लिगअन्तर्गत बुधबार तीन खेल हुनेछन्। च्यासल मैदानमा सातदोबाटो युथ क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्दा दशरथ रंगशालामा थ्री स्टार र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुनेछ। यस्तै दिनको अन्तिम खेलमा दशरथ रंगशालामा नै हिमालयन शेर्पा क्लव र जावलाखेल युथ क्लब आमनेसामने हुनेछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *