जीटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन रुस सकारात्मक : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय टोली नेपाल फर्किएको छ। मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अध्यक्ष तिमिल्सिनासहितको रुस भ्रमणकारी टोली स्वदेश फर्किएको हो।

रुस भ्रमणका क्रममा रुसका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेको अध्यक्ष तिमिल्सिनाले बताए। उनले रुसी संसद नेपालसँग सम्बन्ध विस्तार गर्नका लागि तयार रहेको भेटका क्रममा रुसी पदाधिकारीहरूले बताएको बताए।

उनले शोभियत संघको कालखण्डमा भन्दा पनि अझै बढी सहयोग र सम्बन्ध विस्तार गर्न रुस तयार रहेको बताए। दुई देशका संसदबीचको सम्पर्क, सम्बन्ध र समझदारी पत्र हस्ताक्षर मात्रै नभई पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जीटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने विषयमा पनि छलफल भएको र त्यसमा रुस सरकार सकारात्मक रहेको बताए।

जीटुजीमार्फत रासायनिक मल सस्तोमा उपलब्ध गराउन सहयोग गर्ने कुरामा पनि छलफल भएको उनले बताए। गहुँ उपलब्ध गराउने, व्यापार विस्तार गर्ने कुरामा पनि रुस सरकार सकारात्मक रहेको उनको भनाइ छ। त्यस्तै रुस नेपाल सरकारबाट प्रस्ताव भए कान्ति बाल अस्पतालको स्तरवृद्धि गर्ने कुरामा तयार रहेको पनि उनले बताए।

उनले भने, ‘जुन उद्देश्यका साथ हामी रसिया भ्रमण गएका थियौं, खासगरी दुई देशका संसदहरूको बीचमा हामी घनिष्ठ सम्बन्ध कायम गर्ने र समझदारीपत्रमा हस्ताक्षर गर्ने कुरा प्रमुख थियो। दुवै सदनका प्रमुखहरूसँगको भेटवार्ता सरकारका प्रतिनिधिहरूसँग उपप्रधानमन्त्री, कार्यवाहक विदेशमन्त्रीसँग उहाँहरूसँग, चेम्बर अफ कमर्सको अध्यक्षसँगको भेटघाट, रुसका ५ राजनीतिक दलका नेताहरूसँगको भेटवार्ताहरू, अन्य भेटवार्ताहरू महत्त्वपूर्ण रहेका छन्। रुसी संसद नेपालसँग सम्बन्ध विस्तार गर्नका लागि शोभियत संघको कालखण्डमा जति सम्बन्ध र सहयोग नेपालमा भइरहेको थियो, त्योबीचमा कमी भएको कुरा उहाँहरूले महसुस गर्नुभएको र अब शोभियत संघको कालखण्डभन्दा अझ राम्रो बनाएर लैजान उहाँहरू उत्सुक भएको छ। यो भ्रमण त्यसमै आधारित रहेको कुरा व्यक्त गर्नुभएको छ। दुई देशका संसदबीचको सम्पर्क, सम्बन्ध र समझदारीपत्र हस्ताक्षर मात्रै नभई पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जीटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने सस्तो दरमा, गहुँ उपलब्ध गराउने, व्यापार विस्तार गर्ने कुरामा इच्छुक हुनुहुन्छ। सरकारबाट प्रस्ताव भए कान्ति बाल अस्पतालको स्तरवृद्धि गर्ने कुरामा तयार हुनुहुन्छ।’

भ्रमणका क्रममा विभिन्न संग्रहालयको अवलोकन गर्ने काम भएको पनि उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर