इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अंग्रेजीमा राख्ने टुंगो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।

प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुंगो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजंग थापाले जानकारी दिए । ‘जुन प्रदेशको नाम लेखिएको थियो त्यो नेपालीमा हुन्छ । नम्बर प्लेटमा नेपालको झण्डा रहेको छ । त्यसले नेपालको सवारीसाधन भन्ने जनाइहाल्छ,’ उनले भने । इम्बोस्ड नम्बर आपूर्ति गर्न बंगलादेशको कम्पनी टाइगर आईटीले जिम्मा पाएको छ । पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्ने गरी वि.सं. २०७३ मा सम्झौता भएको थियो ।

सरकारले इम्बोस्डमा राख्ने भाषा टुंगो लगाए पनि प्राविधिक विषय मिलाउनुपर्ने भन्दै ठेकेदार कम्पनीले अझै नम्बर प्लेट छपाइ गरेको छैन । ‘नम्बर प्लेटमा देवनागरी लिपि राख्नका लागि उनीहरूको सिस्टममा परिवर्तन गर्नुपर्ने रहेछ,’ इन्जिनियर थापाले भने, ‘उनीहरूले त्यसका लागि तयारी गर्दैछ । अब छिट्टै सुरु हुन्छ । हामीले सोहीअनुसार तयारी गर्न भनेर सम्बन्धित ‘पार्टी’ लाई निर्देशन दिएका छौं ।’

बीबीआईएनअन्तर्गतका बंगलादेश, भुटान र भारतमा समेत नेपाली सवारी साधन चल्ने र उनीहरूको उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्न सक्ने हुनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अंग्रेजी भाषाको प्रयोग गरिएको उनको भनाइ छ । भारत, चीनलगायत कतिपय मुलुकमा समेत इम्बोस्ड नम्बर अंग्रेजीमा छपाइ हुने गरेको इन्जिनियर थापाले सुनाए ।

यही वैशाख १२ गतेको प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर नेपालीमा, नेपाली तथा अंग्रेजीमा र अंग्रेजीमा गरी तीनवटै विकल्पमा छपाइ गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय भइसकेको र केही समयमै लागू हुने जानकारी गराएका थिए ।

गत चैत २० गते बसेको मन्त्रिपरिषद बैठकले इम्बोस्ड नम्बर प्लेट देवनागरीमा छपाइ गर्न पाउने निर्णय गरेको थियो । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा इम्बोस्ड नम्बर देवनागरीमा छपाइ गर्ने विषयलाई अगाडि बढाइएको बताएका थिए । ‘त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौं । त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गइरहेका छौं,’ उनले भनेका थिए ।

सरकारले अंग्रेजीमा इम्बोस्ड नम्बर छपाइ गर्न अनिवार्य गरेको भन्दै नेपाली भाषा बचाउ अभियन्ताले विरोध जनाउँदै आएका थिए । धेरै पटक सवारी साधनमा राखिने इम्बोस्ड नम्बर नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुँदै आएको थियो । यसअघि इम्बोस्ड नम्बर अंग्रेजीमा छपाइ हुँदै आएको थियो ।

निर्देशनको पर्खाइमा विभाग
सरकारले देवनागरी लिपिमा इम्बोस्ड नम्बर छपाइ गर्ने भने पनि मन्त्रालयबाट स्पष्ट निर्देशन नआउँदा यातायात व्यवस्था विभागले सो कार्य अगाडि बढाउन नसकिएको जिकिर गरेको छ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यस सम्बन्धमा विभागबाट कुनै तयारी नभएको र मन्त्रालयको निर्देशनको पर्खाइमा आफूहरू रहेको बताए ।

‘देवनागरी लिपिमा छाप्ने भन्ने भयो, तर कुन कुन अक्षर र अंक देवनागरीमा छाप्ने भन्ने स्पष्ट भएको छैन,’ उनले भने, ‘मन्त्रालयबाट निर्देशन आएपछि मात्रै काम सुरु हुन्छ ।’ विभागले अहिले पुरानै व्यवस्थाअनुसार इम्बोस्ड छपाइ गरिरहेको छ ।

‘अंग्रेजीलाई अमान्य भनेको होइन, इम्बोस्ड नम्बरका लागि प्राप्त ‘अर्डर’ अनुसार प्लेट छपाइ भइरहेको छ,’ सूचना अधिकारी पनेरुले भने । हालसम्म करिब तीन लाख इम्बोस्ड नम्बर छपाइ भएको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर