रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज सफल अवतरण

गुल्मीको रेसुंगा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुंगा नगरपालिका-१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन-एबीटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो ।

निगम र रेसुंगा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो । वि.सं. २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल ३३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुंगा विमानस्थल समुद्र सतहदेखि एक हजार पाँच सय २६ मिटरको उचाइमा रहेको छ ।

आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ । कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कँडेल बताउँछन् । ‘रेसुंगा-काठमाडौं उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर छ हजार पाँच सय रुपैयाँ हुने भनिए पनि अन्तिममा छ हजार रुपैयाँसम्म कायम हुन सक्छ,’ उनले भने ।

निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए । रेसुंगा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो ।

लामो समयपछि जहाज चढेर काठमाडौं आउने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *