गण्डकीका मुख्यमन्त्री पाण्डे र दुई बिनाविभागीय मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। बिनाविभागीय मन्त्रीका रूपमा प्रदेशसभा सदस्य सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीले शपथ ग्रहण गरेका हुन्।

सिम्खडा नेकपा (माओवादी केन्द्र) र तिवारी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मन्त्रिपरिषद विस्तार र नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट छिट्टै हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी) का एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा कांग्रेसका पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन्। नवनियुक्त मुख्यमन्त्री पाण्डे गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा गोरखा-२ (२) बाट निर्वाचित भएका थिए।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डे विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय व्यक्तित्व हुन्। प्रदेशसभाबाट विश्वासको मत गुमाउँदै नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर