अनुसन्धान र आविष्कारमा सरकार गम्भीर नभएको भन्दै महावीर पुनले थाले सडक आन्दोलन

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन सुरु गरेका छन्। उनले शुक्रबारदेखि काठमाडौंको माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चितकालका लागि आन्दोलन सुरु गरेका हुन्।

पुनले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरूका लागि केही नगरेकाले दबाबस्वरूप आन्दोलन गर्नुपरेको बताए। उनले नेपाल अनुसन्धान र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउन आन्दोलन गर्नुपरेको उल्लेख गरे।

उनले नयाँ विषयहरूको आविष्कार गर्ने, नयाँ प्रवर्द्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सधार हुन नसक्दा नेपाली युवा विदेश जान बाध्य हुने बताए। उनले अर्थतन्त्र सुधारका लागि सरकारले प्रमुख प्राथमिकताका साथ अनुसन्धान, आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्ने बताए।

उनले नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता नदिएकाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाएको बताए। पुनले सरकारले अब नेपालमा नै प्रतिभा भएका युवालाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए।

उनले यो क्षेत्रको विकासका लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयहरूमा पुग्ने सबै मन्त्री र नेताहरूसँग भेट्दासमेत केही गर्न नसकिएको बताए। उनले पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दासमेत सरकारले नदेखेको आरोप लगाए।

उनले आन्दोलनमा अनुसन्धान र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनका लागि हरेक वर्ष विकास बजेटको एक प्रतिशत रकम छुट्याउन माग गरे। उनले प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने बताए।

पुनले स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने कानून बनाउन, नवउद्यमीहरूलाई हतोत्साहित नगर्न, उद्यमशीलताको विकास गर्न नवउद्यमी पहिचान र प्रवर्द्धन समिति बनाउन र व्यावहारिक अनुसन्धालाई प्रवर्द्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्न माग गरे।

उनले ‘यात्री’ मोटरसाइकललाई तत्काल लाइसेन्स प्लेट दिने व्यवस्था गर्न माग गरे। उनले पुराना गाडीहरूलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति मागसमेत गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *