इन्टरपोलको शताब्दी वर्षमा नेपाल प्रहरीका कर्मचारीले गरे लोबुचे हिमाल आरोहण

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा नेपाल प्रहरी पहरा गण सामाखुसीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली तथा आरोहण दलले शुक्रबार ६,११९ मिटर उचाइको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेका छन्।

सन् १९२३ मा स्थापना भएको इन्टरपोलको नेपाल १०० औं सदस्य राष्ट्र हो। इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने योजनाअन्तर्गत नेपालको तर्फबाट नेपाल प्रहरीका कर्मचारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउने तयारी गरेका छन्।

यसका लागि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गत चैत ३० गते आरोहणमा जान लागेका प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा, इन्टरपोलको झण्डा एवं आरोहणमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गर्नुका साथै आरोहण दललाई शुभकामनासहित बिदाइ गरेका थिए।

नेपाल प्रहरीले विभिन्न कालखण्डमा पर्वत, हिमाल आरोहण गरिसकेको छ। साथै नेपाल प्रहरीमा हिमाली शाखा स्थापना भई प्रहरी कर्मचारीहरू र नेपाल प्रहरी परिवार संघका पदाधिकारीहरूले समेत विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गर्नुका साथै सगरमाथा सफाइ अभियानमा सहभागी र विभिन्न आरोहण दलमा सम्पर्क अधिकृतको रूपमा भूमिकासमेत निर्वाह गरिसकेका छन्।

आरोहणमार्फत आपराधिक क्रियाकलाप हुन नदिने र कानून कार्यान्वयनमा नेपालको पूर्ण रूपमा ऐक्यबद्धता रहेको भन्ने सन्देश विश्वसामु प्रवाह हुने अपेक्षा गरिएको छ। यसबाट नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा थप टेवा पुग्नुका साथै प्रहरीको उपस्थितिले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति बढ्ने विश्वास लिइएको छ।

पहिलो पटक वि.सं. २०३१ सालमा प्रहरी कर्मचारीका ९ सदस्य टोलीले ६,९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। हिमाली भेगको सुरक्षाका निम्ति प्रहरी कर्मचारीलाई सक्षम बनाउने उद्देश्यका साथ वि.सं. २०३३ सालमा नेपाल प्रहरी पर्वतारोहण तथा साहसिक प्रतिष्ठान स्थापना भएपश्चात् नेपाल प्रहरी कर्मचारीको २७ सदस्य टोलीले वि.सं. २०३३ असोज १६ गते र नेपाल प्रहरी महिला दलको ३१ सदस्य टोलीले वि.सं. २०४१ भदौ २६ गते ६,११९ मिटर उचाइको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर