‘ए’ डिभिजन लिग : मनाङको खराब लय कायमै

राजधानीमा जारी शहीद स्माकर ‘ए’ डिभिजन लिगमा आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी फुटबल क्लबको खराब लय छैटौं खेलमा पनि कायमै रहेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाईज युनाइटेडसँग ३-० गोल अन्तरले पराजित भएसँगै यस सिजन मनाङको खराब लय कायमै रहेको हो । यससँगै मनाङले छैटौं खेलमा पनि पराजय भोगको छ ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बूले एक/एक गोल गरे । सबै गोल ४० मिनेटपछि मात्र सम्भव भएका हुन् । खेलको ४१ औं मिनेटमा चर्च ब्वाइजले कप्तान अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । सुशील शाहको क्रसमा कप्तान अनन्तले हेडिङमार्फत गोल गर्दै चर्च ब्वाइजको खाता खोलेका थिए । खेलको ५५ औं मिनेटमा मौषमले गोल गर्दै चर्च ब्वाइजलाई २-० को अग्रता दिलाएपछि खेलको इन्जुरी समयमा साइमनले गोल गर्दै चर्च ब्वाइजलाई ३-० को जित निश्चित गराएका हुन् ।

यससँगै जारी सिजन चर्च ब्वाइजले पाँचौं जित निकाल्न सफल भएको छ । चर्च ब्वाइजले १३ खेलमा २१ अंक जोडेको छ । मनाङ पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो । मनाङले १३ खेलमा १५ अंक जोडेको छ ।

यस्तै खराब मौसमका कारण शनिबार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल शनिबाररकै नतिजा १-१ मा टुंगिएको छ । यससँगै दुवै टोलीले १/१ अंक बाँडेका छन् । शनिबार स्थगित हुनुपूर्व नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । शनिबार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आइतबार भएको हो । यस बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । आर्मीले १३ खेलमा २० अंक जोडेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा सम्पन्न खेलबाट जावलाखेल र संकटा क्लबले पनि १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खराब मौसमका कारण स्थगितपूर्व शनिबार लिएको एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाँड्नुपरेको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । तर आइतबार सम्पन्न बाँकी खेल अन्र्तगतको खेलमा संकटाले बराबरी गोल गर्न सफल भएको हो ।

५१ मिनेपछि खेलाइएको खेल खेलको ७३ औं मिनेटमा निशान खड्काले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । शनिबार च्यासल मैदानमा भारी वर्षा र चट्याङको कारण संकटा र जावलाखेलबीचको खेल स्थगित भएको थियो । यस बराबरीसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ । जावलाखेल शीर्ष स्थानमा कायम रहेको छ । संकटा १३ खेलमा १६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *