अयोग्य लडाकुलाई छिटोभन्दा छिटो २ लाख रुपैयाँ दिनुपर्छ : देवेन्द्र पौडेल

नेकपा(माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले अयोग्य लडाकुहरूलाई छिटोभन्दा छिटो २ लाख रुपैयाँ दिनुपर्ने बताएका छन्। सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरूलाई दिने भनिएको २ लाख रुपैयाँ छिटोभन्दा छिटो दिइनुपर्ने बताएका हुन्।

उनले सो निर्णय यसअघिकै सरकारहरूले गरेको निर्णय भएको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको बताए। न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले आयोग्य लडाकुहरूलाई २ लाख रुपैयाँको दरले दिँदा करिब एक अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने बताए।

उनले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरूको योगदान रहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान हुनुपर्ने बताए। सचिव पौडेलले राज्यले अयोग्य लडाकुहरूलाई रकम दिँदा देश कंगाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरूको अपमान हुने बताए।

उनले लडाकुहरूलाई रकम दिने कुरा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयसँग पनि जोडिएको बताए। सचिव पौडेलले देशको परिवर्तनको निम्ति सर्मपित भएका युवाहरूलाई राज्यले सम्झिँदाखेरि विरोध गर्नेहरूको विवेक हराएको टिप्पणी गरे।

उनले लडाकुको योगदानलाई पैसासँग तुलना गरिनु पनि उनीहरूप्रतिको अपमान भएको बताए। सचिव पौडेलले अनावश्यक कुराहरू गरेर लडाकुलाई पैसा दिने कुरा कसैले पनि अल्झाउन नहुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर