उम्मेदवारको डाटा हराएपछि लोकसेवा आयोगले फेरि माग्यो दरखास्त, दस्तुर तिर्नु नपर्ने

उम्मेदवारहरूको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ। आज (बुधबार) बाट लागू हुने गरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो।

२०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेका उम्मेदवारहरूलाई पुनः दरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले बताए। उनले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेकाहरूले मात्रै दरखास्त भर्न पाउने र उनीहरूले दस्तुर शुल्क तिर्नु नपर्ने बताए।

उनले यसपटक पनि ८० हजारभन्दा धेरैले दरखास्त भर्ने अनुमान गरेको बताए। उनले पहिला दरखास्त भरिसकेकाहरूको डाटा संकलनका लागि मात्रै पुनः दरखास्त आह्वान गरिएको उल्लेख गरे।

याे पनि – लोकसेवासहित ६० सरकारी वेबसाईटका डाटा गायब, आयोगको परिक्षा अवरुद्ध हुनसक्ने

प्रवक्ता सुवेदीले आयोगले शाखा अधिकृतको परीक्षा असार ९ गते गर्ने र अन्य पदको परीक्षा भने साउन महिनादेखि मंसिरसम्म सक्नेगरी तयारी गरिरहेको पनि बताए। उनले पुनः दरखास्त दिँदा पहिला जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने बताए।

उनका अनुसार पुनः दरखास्त प्राप्त भएपछि साविकमा स्वीकृत भइसकेका दरखास्तहरू अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको छ।

लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरू रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त मागेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर