परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान

परराष्ट्रमन्त्री एनपी साउद बेलायत प्रस्थान गरेका छन्। बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

उक्त राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भए पनि स्वास्थ्यका कारण जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाएको हो।

उनी वैशाख २६ गते स्वदेश फर्कने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

आगामी मे ६ तारिख (वैशाख २३) मा लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा राज्याभिषेक समारोहमा हुनेछ।

यसअघि सन् २००३ मा तत्कालीन राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा बेलायत भ्रमण गरेका थिए । त्यसअघि स्वर्गीय राजा वीरेन्द्रले सन् १९८० र १९९५ मा तथा राजा महेन्द्रले सन् १९६० मा बेलायत भ्रमण गरेका थिए। नेपालका राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी दुवैले भ्रमण गरेनन्।

वकिंघम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा झन्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ। समारोहमा संसारभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवार सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने अपेक्षा छ।

वेस्टमिनिस्टर आबीमा सन् १०६६ देखि राज्याभिषेक समारोह हुँदै आएका छन्।

गत सेप्टेम्बरमा महारानी एलिजाबेथ द्वितीयाको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेक समारोहमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलाले पनि रानी मेरीको मुकुट लगाउनेछिन्। एलिजावेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्कालाई लन्डन पठाइएको थियो।

नेपालले बेलायतसँग पहिलो कूटनीतिक सम्बन्ध सन् १८१६ मा राखेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *