धरानमा २२७ किलो गाँजासहित २ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

सुनसरीको धरान उपमहानगरपालिका-१३, शिवधारास्थित कोशी राजमर्गबाट बिहीबार सशस्त्र प्रहरीले २ सय २७ किलो ४ सय ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानले धनकुटाबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ९४८९ नम्बरको ट्रक चेकजाँचका क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो।
८ वटा पोकामा लैजाँदै गरेको गाँजासहित चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ बस्ने ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुमको छथर गाउँपालिका २ बस्ने २८ वर्षीय चुडामणि कटुवाललाई नियन्त्रणमा लिएको हो।
उनीहरूले प्रयोग गरेको ट्रक पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूको साथबाट ६० हजार नेपाली रुपैयाँ, ४ वटा मोबाइल सेट, बाटोको इजाजतपत्र र सवारी दर्ता प्रमाणपत्रसमेत बरामद भएको छ ।
नियन्त्रणमा लिइएका उनीहरूलाई ट्रक, गाँजा र बरामद सामाग्रीसहित आवश्यक कारबाहीका लागी  इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *