संकटमाथि मच्छिन्द्रको रोमाञ्चक जित

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीवार संकटलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले संकटा क्लवमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो ।

मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, आफिज ओलावाले र विमल घर्ती मगरले एक एक गोल गरे भने संकटाका जुनियर एनकेनगुएले एक गोल फर्काए । अविरल वर्षासँगै हिलाम्मे मैदानमा भएको प्रतिष्पर्धामा मच्छिन्द्रले चौथो मिनेटमा दवबेन्द्र तामाङको गोलबाट अग्रता लिएको थियो ।

देवेन्द्रले युटा सुजुकीको कर्नरमा पुजन उपरकोटीले प्रहार गरेको बल संकटाका गोलकिपर टिकेन्द्र थापालले बचाउने प्रयास गर्दा रिबाउन्ड भएको बललाई पोस्टको दिशा दिएका थिए । त्यसपछि पहिलो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरेपनि सफल हुन सकेनन् । ६९औं मिनेटमा ओलावालेले मछिन्द्रको अग्रतालाई दोब्बर बनाए ।

ओलावालेले शौरव लिम्बूको क्रसलाई गोलमा परिणत गरेका थिए । ७८औं मिनेटमा संकटाका जुनियरले गोल गर्दा खेल २–१ को स्थितीमा पुगेको थियो । खेल सकिन एक मिनेट बाँकी रहँदा विमलले गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जित निश्चित गराए । यससँगै मच्छिन्द्रले संकाटबिरुद्ध दुवै खेलमा जित निकाल्न सफल भएको हो । पहिलो लेगमा मच्छिन्द्र २–१ ले विजयी भएको थियो ।

यस जितसँगै मच्छिन्द्र १४ खेलमा ५ जित, ६ बराबरी र ३ हारको नतिजासहित २१ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको संकटा समान खेलबाट ४ जित, ४ बराबरी र ६ हारको नजितासहित १६ अंकका साथ ११औं झरेको छ ।

लिग अन्तर्गत बिहीवार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ र न्युरोड टिम (एनआरटी) ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको अन्त्यतिर १० खेलाडीमा सिमित भएको एनआरटीबिरुद्ध एपिएफले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएको थियो । एन्फा मुख्यालयको मैदानमा दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । पहिलो हाफमा भन्दा दोस्रो हाफमा आक्रामक देखिएको एनआरटीले ५८औं मिनेटमा अग्रता निकालेको थियो ।

एनआरटीका लालनुनजामाले गोल गर्दै एनआरटीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा एपिएफका डिफेन्डर एडमा डोम्बियाले गोल गर्दै एपीएफलाई हारबाट जोगाए ।

यस बराबरीसँगै एपीएफले १४ खेलमा १९ अंक जोडेको छ । एपीएफ सातौं स्थानमा रहेको छ । एनआरटीले १४ खेलमा १७ अंक जोडेको छ । एनआरटी नवौं स्थानमा रहेको छ ।

लिगमा शुक्रवारबाट १५ औं चरणका खेल हुनेछन् । जस अन्तर्गत जावलाखेल र खुमलटार युथ क्लवले एन्फा मुख्यालयमा प्रतिष्पर्धा गर्दा दोस्रो खेल नेपाल पुलिस र हिमालयन शेर्पाबीच च्यासल मैदानमा हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *