बुद्ध पूर्णिमाअघि मायादेवी मन्दिरमा ‘चिनियाँ कब्जा’

लुम्बिनी विकास कोषसँग लुम्बिनी परिसरमा रहेको चिनियाँ गुम्बाले दीप प्रज्वलनको अनुमति लिएर सिंगो मायादेवी मन्दिर परिसरमा कब्जा जमाएको छ । बिहीबार केही समयका लागि दीप प्रज्वलनको अनुमति पाएको चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर नै छेकिने गरी स्टेज र बोर्ड राखेको छ । यस्तै परिसरमा सयौंको संख्यामा रहेका चिनियाँहरूको चहलपहल भइरहेको छ ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले पर्दाफाससँग दीप प्रज्वलन कार्यक्रमका लागि अनुमति लिएर गुम्बाले स्टेज बनाएको बताए । उनले पर्दाफाससँग केही घण्टाका लागि मात्र स्टेज बनाएको बताए । पर्दाफासले सिंगो मायादेवी मन्दिर नै ओझेलमा राखेर बनाएको स्टेजका विषयमा जिज्ञासा राख्दा उनले भने, ‘हामीसँग कार्यक्रम गर्न अनुमति लिइएको हो, स्टेज बनाउन होइन । यति ठूलो बनाउने कुरा भएको थिएन । जम्मा दुई घण्टाका लागि हो ।’

लुम्बिनी परिसरमा रहेको मायादेवी मन्दिर र अशोक स्तम्भ रहेको क्षेत्र युनेस्कोको सम्पदा सूचीमा रहेको संरक्षित क्षेत्र हो । यहाँको सुरक्षा र संरक्षणका लागि कोषले प्रवेशमा समेत जुत्ता चप्पलसमेत निषेध गरेको छ । तर यही क्षेत्रमा यसप्रकारको कार्यक्रम भइरहेको हो ।

कोषका एक जना पूर्वकार्यकारी सदस्यले काेषमा हाल चीन निकट रहेकाहरूको दबदबा रहेको बताए । उनले शान्ति क्षेत्र र सम्पदा क्षेत्रमा ठूलो ध्वनि प्रदूषणसहित हुन लागेको कार्यक्रमले कसरी अनुमति पायो भनेर आफूसमेत अचम्ममा परेको बताए ।

शुक्रबार बुद्ध जयन्तीका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ सहभागी हुँदैछन् । स्रोतका अनुसार चिनियाँ दूतावासले आफ्नो प्रभाव देखाउन समेत युनेस्को सूचीकृत सम्पदाको बेवास्ता गर्दै यस्तो कार्यक्रम आयोजना गरेको बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *