राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौं : शिशिर खनाल

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लाग्नुपर्ने बताएका छन्।

जनकल्याण सामाजिक केन्द्र र सिद्धेश्वर करिडोर समितिले आज काठमाडौंमा आयोजना गरेको वातावरणसम्बन्धी अन्तरक्रियामा उनले विकासका लागि राजनीति गर्न नहुने बताएका हुन्। ‘राजनीतिलाई फरक ढंगले अगाडि बढाउनुपर्छ। अर्को पार्टीलाई निषेध गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ,’ उनले भने।

खनालले बागमती करिडोर सरसफाइका लागि धेरै तहमा छलफल भए पनि विष्णुमती करिडोरको विकासका बारेमा धेरै छलफल हुन नसकेको बताए। संसारको प्रदूषित शहरमध्ये काठमाडौंसमेत भएको जनाउँदै यसलाई वातावरणमैत्री बनाउन प्रत्येक व्यक्तिको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

उनले संघ र प्रदेश सरकार कानून बनाउन व्यस्त हुने भएकाले स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासका लागि विशेष चासो दिनुपर्ने बताए। ‘संघ र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासमा लाग्नुपर्छ,’ उनले भने।

नेपाली कांग्रेसकी नेतृ एवं बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले वातावरणमैत्री शहरका व्यक्ति र घरपरिवारबाट चेतना आउनुपर्ने बताइन्। वृक्षरोपण गर्दा मानव जीवनलाई प्रत्यक्ष फाइदा पुग्ने रुखबिरुवा रोप्नुपर्ने उनको भनाइ छ।

उनले सडक कालोपत्र गर्दा ढल, खानेपानी र बिजुलीको अवस्थालाई राम्रोसँग अध्ययन गर्नुपर्ने बताइन्। नीति निर्माणसँगै स्थानीय तहको विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको खड्गीले बताइन्।

नेपाली कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले विकासका लागि जनप्रतिनिधिको इच्छाशक्ति हुनुपर्ने बताए। टोखा-९ का वडाअध्यक्ष रामभक्त घिमिरेले स्थानीय सरकारदेखि केन्द्रीय सरकार सहकार्य गरेर अगाडि बढेमात्र स्थानीय तहको विकास हुने बताए।

जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले काठमाडौंलाई स्वच्छ, हराभरा र वातावरणमैत्री शहर बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए। प्राकृतिक वातावरण र राजनीतिक वातावरण राम्रो भए मात्र देशको विकास सम्भव हुने अध्यक्ष दासको भनाइ छ।

सिद्धेश्वर करिडोर समितिका अध्यक्ष उमाकान्त शिवाकोटीले विष्णुमती करिडोरलाई सुन्दर, सफा र हराभरा बनाउन तीनै तहका सरकारको उत्तिकै भूमिका रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर