तथ्यांक विभागको प्रक्षेपणले मुलुक आर्थिक मन्दीमा फसेको निश्चित भयो : विनोद चौधरी

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले तथ्यांक विभागको आर्थिक वृद्धिदरको प्रक्षेपणले मुलुक आर्थिक मन्दीमा फसेको निश्चित भएको बताएका छन्। आइतबार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन-२०२३ मा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन्।

सांसद चौधरीले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने, एशियाली विकास बैंक र विश्व बैंकले ४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरे पनि अपेक्षाभन्दा ४ गुणा कम आर्थिक वृद्धि हुने तथ्यांक विभागले देखाएको बताए। उनले अर्थतन्त्रमा अहिलेजस्तो समस्या र चुनौती विगतमा कहिल्यै नआएको बताए।

उनले चालु आर्थिक वर्षमा करिब साढे १० महिनामा राजस्व संकलन लक्ष्यको तुलनामा करिब ५१ प्रतिशत मात्रै भएको उल्लेख गरे। उनले वार्षिक करिब १४ खर्ब राजस्व संकलन गर्ने लक्ष्यमा वैशाख २० सम्म ७१६ अर्ब मात्रै राजस्व संकलन भएको पनि बताए।

सांसद चौधरीले विगत ५५ वर्षको इतिहासमा आर्थिक वृद्धिदर ऋणात्मक भएको अवस्थामा समेत गत आर्थिक वर्षको तुलनामा राजस्व ऋणात्मक नभएको बताए। उनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक नभए पनि राजस्व संकलन ऋणात्मक हुने देखिएको बताए।

उनले कृषि, सेवा क्षेत्रसहित उत्पादनमूलक क्षेत्रको वृद्धिदर नकारात्मक रहेको बताए। उनले जीडीपीमा पिलरहरू अत्यन्त समस्यामा देखिएको पनि बताए। उनले उत्पादनमूलक उद्योगहरूमा २० देखि ८० प्रतिशतसम्म उत्पादन घटेको सरकारका रिपोर्टहरूले पुष्टि गरेको दाबी गरे।

उनले निजी क्षेत्र हतोत्साहित रहेको भन्दै बजारमा मन्दीका लक्षणहरू देखिएको उल्लेख गरे। उनले ३५ प्रतिशत उद्योगहरू विस्थापित भएको भन्दै मुख्य व्यापारिक केन्द्रका शटरहरू खुल्न छाडेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *