आयात प्रतिस्थापनका लागि उद्योग-व्यवसायलाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आयात प्रतिस्थापनका लागि आत्मनिर्भर हुन सक्ने उद्योग-व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आइतबार काठमाडौँमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन-२३ मा बोल्दै अध्यक्ष गोल्यानले मुलुक आत्मनिर्भर बन्नको लागि आयात बढाउँदै राजस्व उठाउने नीति परिवर्तन हुनुपर्ने बताए ।

उत्पादनको दृष्टिकोणले आत्मनिर्भर बनिसकेका र आत्मनिर्भर उन्मुख क्षेत्रलाई संवर्द्धन गर्न र न्यून बिजकीकरणलाई निरुत्साहित गर्न नेपाली उत्पादनहरूको उत्पादन मूल्यभन्दा कममा आयात नहुने गरी भन्सार समर्थन मूल्य कायम गरिनुपर्ने उनले बताए । सरकारले निर्यातमूलक उद्योगहरूको प्रतिस्पर्धी क्षमता अभिवृद्धिका लागि निर्यातमूलक उद्योगहरूलाई आवश्यक विद्युत ५० प्रतिशत र आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई २० प्रतिशत छुट दरमा विद्युत उपलब्ध गराउनुपर्ने उनले बताए ।

अध्यक्ष गोल्यानले विलासिताका सामान रोक्नुभन्दा तिनीहरूमा भन्सारको दर बढाएर राजस्व बढाए आयात नियन्त्रणसमेत हुने विश्वास व्यक्त गरे । भारतमा रहेका नेपाली नागरिकलाई आइडी दिने व्यवस्थाको पहल गरे भारतीय बैंकमा खाता खोल्न सजिलो हुने र वैधानिक तवरबाट वार्षिक ५ खर्बभन्दा बढी रेमिट्यान्स नेपालमा भित्राउन सक्ने भन्दै त्यसका लागि सरकारको अग्रसरता र सहजीकरण आवश्यक पर्ने उनले बताए ।

अध्यक्ष गोल्यानले नेपालको आर्थिक विकासका लागि कृषि, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधारको विकास, आयात प्रतिस्थापन गरी निर्यात बढाउन आवश्यक रहेको बताए । रोजगारमूलक उद्योगको स्थापना गर्न आवश्यक रहेको पनि उनले बताए । सूचना प्रविधि क्षेत्रको बृहत्तर विकास गर्दै डिजिटल इकोनोमी
अर्थात् डिजिटल नेपालको फ्रेमवर्कमा सरकारले काम गर्न आवश्यक रहेको उनले बताए । कृषि क्षेत्रको प्रवर्द्धनका लागि भण्डारण एवं बजारको व्यवस्थापन र कृषि प्रशोधन केन्द्रहरूको स्थापना गर्नुपर्ने उनले बताए ।

अध्यक्ष गोल्यानले कृषि पूर्वाधारको निर्माण, मल, बिउबिजनको वितरण, कृषि यन्त्रको उपलब्धता, भण्डारण र ढुवानीको समस्या सरकारले समाधान गर्नुपर्ने बताए । कृषि यन्त्रहरूको महँगाे खरिद प्रक्रियालाई सरल बनाउन स्थानीय सरकारले सहुलियत दरमा उपलब्ध गराउन पीपीपी मोडल अपनाउन जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर