महोत्तरीमा ५५६ वटा चौंरी गाईको पुच्छरसहित ४ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

सशस्त्र प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिका-३ स्थित मलिवाडा बसपार्कबाट बुधबार करिब २८ लाख ३० हजार रुपैयाँ मूल्य बराबरकोे ५५६ वटा चाैंरी गाईको पुच्छरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने विकासकुमार महतो, धादिङको गजुरी गाउँपालिका-८ बस्ने ३६ वर्षीय उमेशबहादुर बस्नेत, बाराको सिमरा नगरपालिका-१ बस्ने ६० वर्षीय सुमन मानन्धर र धनुषाको हसपुर नगरपालिका-४ बस्ने ३७ वर्षीय मोहमद अजिन रहेका छन् ।
काठमाडौंबाट जलेश्वर हुदै मलिवाडा रुटमा चल्ने प्रदेश २-०३-००१ ख १२१५ नम्बरको यात्रुवाहक बसबाट मलिवाडा बसपार्कमा चौंरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूलाई चौंरी गाईको पुच्छरसहित आवश्यक कारबाहीका लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ । सो बससमेत आवश्यक छानबिनका लागि सोही शाखामा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
चौंरी गाईको पुच्छर देवीदेवताको मन्दिरमा चढाउन र केही रोगमा घरेलु उपचारका लागि समेत प्रयोग हुने गर्छ ।
‘चौंरी गाईको पुच्छर बहुउपयोगी हुन्छ । कानूनले वन्यजन्तुका अंग तस्करीलाई अपराध मानेको छ,’ सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले भने ।
वन्यजन्तुको तस्करी तथा किनबेचलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धि १९७५ विरुद्धको अपराध मानिन्छ । यस्तो अपराध गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *