संकुचनलाई देखाएर बजेट घटाए अर्थतन्त्र थप संकुचनतर्फ धकेलिन्छ : पूर्वअर्थमन्त्री शर्मा

पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको संकुचनलाई देखाएर बजेट घटाए अर्थतन्त्र थप संकुचनतर्फ धकेलिने बताएका छन् । बुधबार प्रतिनिधिसभामा विनियान विधेयक-२०८० को बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री शर्माले वर्तमान अवस्थामा देखिएका अर्थतन्त्र संकुचन तथा निकट भविष्यमा आउने वित्तीय क्षेत्रको चुनौतीलाई गम्भीर भएर सरकारले सोच्नुपर्ने बताए ।

उनले मुलुकलाई आर्थिक संकुचनबाट जोगाउँदै अर्थतन्त्रलाई पुनःपरिचालित बनाउन बजेट प्रभावकारी भएको बताए । उनले अर्थतन्त्रलाई संकुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउनुबाहेक अन्य कुनै पनि रणनीति सही हुन नसक्ने बताए । उनले आर्थिक गतिविधि बढाउनका लागि बजेट बढाउँदा स्रोतको चुनौतीलाई ध्यान दिन आवश्यक रहेको बताए ।

शर्माले समग्र आर्थिक संकुचन आएको वर्तमान अवस्थामा बजेट निर्माण अत्यन्त महत्वपूर्ण पक्ष भएको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउँदै सरकारको लक्ष्य पूरा गर्ने प्रभावकारी अस्त्र भएको बताए । उनले आगामी आर्थिक वर्षको बजेट नियन्त्रित र बिस्तारकारी उपयुक्त हुने बताए । उनले निश्चित क्षेत्रभित्र रहेर विस्तारकारी बनाए अन्य क्षेत्रमा खर्च कटौती र नियन्त्रण गर्नुपर्ने बताए ।

उनले संकुचनको चुनौती रहेको अर्थतन्त्र चलायमान बनाउन निजीक्षेत्रलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गर्न आवश्यक रहेको बताए । उनले सरकारी खर्चको स्रोत व्यवस्थापनको चुनौती भएकाले निजी क्षेत्रको प्रवर्द्धनले राहत पुग्ने दाबी गरे ।

उनले निजीक्षेत्र चलायमान भएपछि मात्रै सरकारको आम्दानी बढ्ने बताए । उनले बजेट बनाउनुपूर्व सबै मन्त्रालय र संस्थाहरुको १० प्रतिशत चालु खर्च कटौती गर्ने योजना र योजनाहरुको पुनःप्राथमिकीकरण गर्ने, सेवा सुविधा र प्रयोगको पुनःपरिभाषित गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा प्राथमिकता दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर