EXCLUSIVE

मिटरब्याजको धन्दामा गैरनाफामूलक पतञ्जलि योगपीठ, प्रहरी प्रशासनको आडमा धम्काउँदै ट्रस्टी सिंह

नेपालमा योग, आयुर्वेद र आयुर्वेद शिक्षाका लागि भन्दै गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएको दाबी गर्ने पतञ्जलि योगपीठले चक्रीय ब्याजदर प्रणालीमा रकम लगानी गर्ने गरेको प्रमाण फेला परेको छ ।

पर्दाफासलाई प्राप्त कागजपत्रहरूले पतञ्जलि योगपीठ नेपालका ट्रस्टी शालिग्राम सिंह र अर्का एक जना बलराम उप्रेतीले नयाँ सडकका एक जना सुनचाँदी व्यवसायीलाई चक्रीय ब्याजदर प्रणालीमा पाँच करोड रुपैयाँ लगानी गरेको भेटिएको छ । ती व्यवसायीले २० पुस, २०७८ मा शालिग्राम सिंहसँग कपाली तमसुक गरेर चार महिनाका लागि पाँच करोड रुपैयाँ सापटी लिएको तमसुकमा उल्लेख छ । जसको साक्षीमा बलराम उप्रेती रहेका छन् ।

कपाली तमसुक र ट्रस्टी शालिग्राम सिंह ।

तमसुकमा पाँच करोड रुपैयाँ १२ प्रतिशत ब्याजदरमा लिने भन्ने सहमति भएको देखिन्छ । यस्तै उक्त रकम बराबरको हीरा जडित सुनका गहना सिंहले धरौटी राखेको उल्लेख छ । तर, ती व्यापारी निकट स्रोतका अनुसार ट्रस्टी सिंहले सुरुमा १५ लाख रुपैयाँ नगद लिएका थिए । यो रकम उनले सेवा शुल्क भनेका छन् । यसपछि पनि पाँच लाख रुपैयाँ लिए । त्योसमेत मूल हिसाबमा देखाएनन् । ट्रस्टी सिंहले तमसुकमा लेखिएअनुसारको १२ प्रतिशत ब्याज रकम योगपीठकै खातामा जम्मा गर्नुपर्ने र बाँकी २४ प्रतिशतबापतको रकम ती व्यापारीले नगदै भुक्तानी गर्नुपर्ने शर्त अघि सारेर मानसिक तनाव दिइरहेका हुन् ।

पर्दाफाससँग सुरक्षित रहेको कागजपत्रमा पतञ्जलि योगपीठको नाममा एसबीआई बैंक नेपालको महाराजगञ्ज शाखाको पाँच करोड रुपैयाँ बराबरको चेक ती व्यापारी सञ्चालक रहेको लक्की ज्वेलर्स कम्पनीको नाममा काटिएको छ । विशुद्ध गैरनाफामूलक कम्पनीले कुन प्रयोजनका लागि पाँच करोड रुपैयाँ सुनचाँदी व्यवसायीलाई भुक्तान गरेको हो, यो अर्को खोजीको विषय बनेको छ ।

पतञ्जलि योगपीठको खाता नम्बर २०४२५२४०२००१९९ नम्बरको खाताबाट नयाँ सडकमा रहेको लक्की ज्वेलर्सका नाममा २० पुस, २०७८ मा पाँच करोड रुपैयाँ बराबरको चेक काटिएको छ । त्यसपछि ज्वेलर्सले पटक–पटक यही खातामा विभिन्न बैंकमार्फत रकम भुक्तानी गरेको छ । (हेरौं स्टेटमेन्ट)

रकम भुक्तानी गरेको विवरण ।

तर, साँवा र ब्याज नियमअनुसार भुक्तान भइसकेपछि ट्रस्टी सिंहले विश्वासका लागि लक्की ज्वेलर्सले दिएको चेक बाउन्स गरेर थप एक करोड ७० लाख २२ हजार ८४ रुपैयाँ भुक्तानीका लागि दबाब दिइरहेका हुन् । यो रकम भनेको २६ चैत्र, २०७९ सम्मको ब्याजबापतको हो । यो रकममा पछिल्लो चार महिनाको रकम २४ प्रतिशतका दरले जोडिएको हो । यो रकममा १२ प्रतिशत बैंकमा राख्ने र बाँकी रकम ट्रस्टी सिंहले नगदै माग गरिरहेको दाबी ती व्यापारी निकटले गरेका हुन् ।

रकम भुक्तानी गरेको विवरण ।

‘व्यापारीले अप्ठयारो परेपछि दर्ता रहेको व्यवसायको नाममा रकम लिएका हुन्,’ पर्दाफासको सम्पर्कमा रहेका व्यवसायी निकटले भने, ‘रकम नै जम्मा गर्नुपरे कम्पनीले जहाँबाट लिएको हो त्यही बैंक खातामा जम्मा गर्छ, व्यक्तिलाई नगदै दिए सरकारलाई के हिसाब देखाउने?’

पर्दाफासले पछिल्लो केही सातादेखि पटक–पटक शालिग्राम सिंहसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । हामीले उनको एनटीसी पोष्ट पेड नम्बरमा मोबाइल र कार्यालयको नम्बरबाट यो समाचार लेख्दासमेत पटक–पटक सम्पर्क गर्न चाहेका थियौं । तर, उनले मोबाइल नम्बर ब्ल्याक लिस्टमा राखे र ल्याण्डलाइनबाट गरेको फोन उठाएनन् ।

स्मरण रहोस्, नेपालमा भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णको नाममा  खोलिएको पतञ्जलि योगपीठमा अहिले भारतीय समूह अनौपचारिक रूपमा बाहिरिएको छ । तर पनि योगपीठले अझै यी दुवैको लाेकप्रियता र विश्वासकै प्रयोग भइरहेको छ ।

पतञ्जलि योगपीठका ट्रस्टी शालिग्राम सिंहले योगका लागि भन्दै प्रधानमन्त्री कार्यालय, बहालावाला प्रधानमन्त्रीहरू, मन्त्रीहरू तथा चारै सुरक्षा निकायका प्रमुखहरूसँग निकटता राखेका छन् । यो घटनाले उनको सादा देखिने जीवनशैलीभित्रको कुरूप चलखेल भताभुंग पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *